कति छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति ?



मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मं‌गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। आज सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ वर्षमा एउटा घर थपेका छन् । यअघि ०७३ सालमा प्रधानमन्त्री हुँदा दाहालसँग कुनैपनि घर थिएन् । ०८१ मा भने दाहालले सम्पत्ति विवरणमा आफ्नो घर पनि उल्लेख गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

रवि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रास्वपाका सभापति हुन् । उनी वर्तमान सरकारमा उपप्रधान तथा गृहमन्त्रीको रुपमा सामेल छन् । उनले आफ्नो र पत्नी निकिता पौडेलको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पत्ति प्रधानमन्त्री प्रचण्डको भन्दा पनि धेरै देखिएको छ ।

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

त्यस्तै लामिछानेले आफूसँग करिव ८० तोला सुन रहेको पनि उल्लख गरेका छन् ती सबै आमा बुवा र श्रीमतीबाट प्राप्त गरेको उनले बताएका छन् ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

घुवीर महासेठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ नेकपा एमालेका सचिव हुन् । वर्तमान सरकारमा प्रधानमन्त्रीभन्दा पछिको वरियतामा सामेल महासेठ सबैभन्दा धनी मन्त्रीमा परेका छन् । उनले आफ्नो र श्रमिती तथा एमाले सांसद जुलिकुमारी महतोको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका छन् ।

जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ ।

यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्टा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्टा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्टा जग्गा रहेको छ ।

यस्तै नगद तर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ ।

यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ ।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्टा जग्गा रहेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ वर्तमान सरकारमा सबैभन्दा गरिब मन्त्रीको रुपमा देखिएका छन् । आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ । त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ । सवारी साधनको नाममा अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी रहेको श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ ।

वर्षमान पुन
माओवादी केन्द्रबाट मन्त्री भएका पुनसँग रोल्पा नगरपालिकामा एउटा घर रहेको छ । वडा नम्बर ७ मा ८२० वर्गमिटरमा बनेको घर पैतृक श्रोतबाट आएको उल्लेख गरेका छन् । उनीसँग ३३ लाख भन्दा धेरै वैंकमा मौज्दात रहेको छ भने एउटा हलुवा सवारी साधन पनि रहेको छ ।

शक्ति बस्नेत
उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बस्नेतसँग जाजरकोटको भेरी नगरपालिकामा बुवाको नाममा एउटा घर रहेको छ । त्यस्तै बस्नेतसँग दुई वटा बैंकमा ३५ लाख रुपैयाँ रहेको उल्लेख छ । बस्नेतको राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ मौज्दात छ । यसबाहेक अन्य रकम कुन बैंकमा रहेको भन्नेबारे खुलाइएको छैन । यस्तै श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर छ भने ५ तोला सुन समेत उल्लेख छ ।

सुमना श्रेष्ठ
रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ ।

एनआईसी एसिया बैंकमा ११५ लाख ९एक करोड १५ लाख० र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।

भानुभत्त, जोशी
नेकपा एकीकृत समानजवादीका सांसद जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौंको कीर्तिपुरमा ५ आनामा बनेको एउटा घर रहेको छ । सो घर उनकी श्रीमतीको नाममा छ ।

त्यस्तै बझाङको छविसपाथीभेरामा २ रोपनी जग्गा समेत उनले देखाएका छन् । बझाङमा नै आफ्नो नाममा थप २ रोपनी जमिन भएको र सो जमिना पुर्खेउली सम्पत्ति भएको जोशीले स्रोतमा उल्लेख गरेका छन् । त्यस्तै जोशीले आफूसँग कुनैपनि सुन चाँदी नरहेको तर परिवारका विभिन्न सदस्यका नाममा भने रहेको उल्लेख गरेका छन् । उनीसँग व्यक्तिगत रुपमा वैंकमा एक लाख मौज्दातसमेत रहेको छ ।

उनको श्रीमतीको नाममा ८ लाख रुपैंया बराबरको रगुनखोला जलविद्युत आयोजनाको सेयर रहेको उल्लेख गरेका छन् । श्रीमतीको नाममा ४३ लाख बराबरको ऋणसमेत जोशीले देखाएका छन् ।

हितबहादुर तामाङ
वर्तमान सरकारका पर्यटन तथा संस्कृतिमन्त्री तामाङसँग नुवाकोटमा ७ रोपनी १५ आना २ पैसा जग्गा रहेको छ भने श्रीमतीको नाममा नुवाकोटका विभिन्न ठाउँमा करिव ६ रोपनी जग्गा रहेको छ । उनीसँग ७.८ तोला चाँदी छ भने ६ तोला सुन र १३ लाख रुपैंया नगर पनि रहेको छ । उनले ७ लाख ५० हजार वैंकमा मौज्दातसमेत रहेको उल्लेख गरेका छन् । उनले विभिन्न व्यक्तिबाट २ लाख ५० हजार ऋण लिएका छन् भने १ लाख ५० हजार ऋण पनि दिएका छन् । मन्त्री तामाङसँग कन्य कुनैपनि सम्पत्ति छैन् ।

पदम गिरी
नेकपा एमालेका तर्फबाट मन्त्री रहेका गिरी कानून न्याय तथा संसदीय मामिलामन्त्री छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पर्वतको कुस्ममा ७ आनामा बनेको एउटा कच्ची घर रहेको छ । पर्वतमै उनको नाममा ७ आना र आमाको नाममा ४ आना जग्गा रहेको छ । उक्त जग्गा पैतृक सम्पत्तिबाट किनेको उल्लेख गरेका छन् । गिरीसँग २३ तोला सुन रहेको छ भने १ लाख रुपैंया बैंकमा मौज्दात रहेको छ ।

उनले ५० लाख रुपैंया बराबरको लगानी पनि गरेका छन् । गिरीले नेपाल वैंकबाट ४० लाख ऋण पनि लिएका छ्न । गिरीसँग अन्य सम्पत्ति छैन् ।

ज्वाला साह
वर्तमान सरकारमा कृषिमन्त्री रहेका साह एमाले सांसद हुन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनका श्रीमानको नाममा बारामा ५ कठ्ठा जग्गा छ । उनको नाममा बारामै २ स्थानमा २५ धुर जमिन छ ।

श्रीमानको नाममा सर्लाहीमा ५० लाखमा किनोको जग्गा पनि भएको साहले उल्लेख गरेकी छन् । साहसँग १० तोला सुन र २५ तोला चाँदीसमेत रहेको छ । उनीसँग ३० हजार र श्रीमानसँग् १० हजार नगद पनि छ । उनीसँग ४ कठ्ठामा बनेको एउटा पुर्खेउली घर पनि छ ।

धनबहादुर बुढा
सहरी विकासमन्त्री बुढाले आफ्नो सम्पत्ति विवरणमा ७ स्थानमा घर रहेको उल्लेख गरेका छन् । सार्वजनिक विवरणमा सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पाको ठूली भेरी नगरपालिका वडा नम्बर ३ मा ४ वटा घर उल्लेख छ। करिब पाँच रोपनी क्षेत्रमा उक्त घरहरू रहेको उनले बताएका छन्। यो सम्पत्ति पैतृक भएको बुढाले उल्लेख गरेका छन्। यी घर–घडेरी उनको र श्रीमती हिमालीको नाममा रहेको छ।

त्यस्तै श्रीमतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा सात तले घर रहेको छ। त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमै तीन तले दुईवटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यो सम्पत्ति व्यापार व्यवसायबाट आर्जन गरेको उनले खुलाएका छन्।

श्रीमती हिमाली बुढाकै नाममा काठमाडौंको महानगरपालिका वडा नम्बर ६ बौद्धमा ७ आना जग्गा रहेको छ। यो सम्पत्ति पनि उनले पैतृक र व्यापार व्यवसायबाटै आर्जन गरेको उल्लेख गरेका छन्।

मन्त्री धनबहादुर बुढाको नाममा १५ लाख नगद मौज्दात रहेको र श्रीमती हिमाली बुढाको नाममा ४५ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनले यो नगद व्यापार, व्यवसायबाट कमाएको उल्लेख छ।

भगवती चौधरी
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरी एमाले सांसद हुन् । मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा १२ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ। स्वआर्जनबाट २ करोड ६७ लाख रुपैयाँमा उक्त जग्गा किनेको उनले उल्लेख गरेकी छन्। त्यस्तै सुनसरीको दुहबीमा १ बिघा १ धुर जग्गा रहेको उल्लेख छ।

त्यसबाहेक सुनसरीको तनमुना ६ ९क० मा २ कट्ठा, सुनसरीकै तनमुना ६ (क) मै २ बिघा ११ कट्ठा साढे ६ धुर, सुनसरीको औराबनी ९ (ख) मा १० धुर, सुनसरीकै औराबनी ९ (ख) मा १० धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

दाङको सोनपुरमा १५ कट्ठा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ। उनीसँग ८५ तोला सुन र २५ किलो चाँदी रहेको पनि उल्लेख छ। उनीसँग एभरेष्ट बैंकमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय बाणिज्य बैंकमा ५ लाख ४६ हजार ११९ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दात रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४२ हजार १०५ र अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ। यी सबै स्वआर्जनबाट भएको उनले उल्लेख गरेकी छन्। उनले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

नलवकिशोर साह सुडी
जसपाबाट मन्त्री बनेका सुडीसँग एकथान बन्दुक रहेको छ । त्यस्तै त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र राजविराजमा श्रीमती र छोरासहित गरी ९ वटा घर रहेको छ । उनले पेश गरेको विवरणमा १५ ठाउँ जग्गा देखाइएको छ । छोरा बुहारी र पत्नीको नाममा १५८ तोला सुन रहेको छ । उनले ८० लाख ऋण देखाएका छन् ।

राजेन्द्र राई
खानेपानी मन्त्री राई एमालेका सांसद हुन् । उनले विभिन्न व्यक्रि र वैंकमा गरेर ५५ लाख रुपैंया ऋण लिएका छन् । खानेपानीमन्त्री राजेन्द्र राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ ।

वीराजभक्त श्रेष्ठ
रास्वपाबाट मन्त्री बनेका हुन् वीराजभक्त । उनी अघिल्लो प्रदेश सभामा काठमाडौं ८ को ख बाट बागमती प्रदेश सभामा सांसदसमेत थिए । हाल उनी काठमाडौं ८ बा संघीय सांसद छन् ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सेयर मार्केटुमा एक करोड बढी लगानी गरेका छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् ।

हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।

हरि उप्रेती
रक्षामन्त्री उप्रेतीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार सर्लाहीमा भोजकुमारी उप्रेतीको नाममा ४० कठ्ठा जग्गा रहेको छ । सर्लाहीकै बरथवामा पनि करिव ४० कठ्ठा जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग २५ तोला सुन छ भने १६ लाख बराबरको एउटा गाडी छ ।

बलराम अधिकारी

सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी पनि एमाले सांसद हुन् । उनीसँग आफ्नो नाममा कुनैपनि सम्पत्ति छैन् भने मन्त्री अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रीमती वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा ५ कट्ठा जमिन रहेको जनाएकामा श्रीमतीकै नाममा वुद्धभूमि ५ मा १ बिगाहा १५ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् ।

यस्तै श्रीमतीकै नाममा काठमाडौँ कीर्तिपुरमा २०६.६६ वर्ग मिटर जग्गा रहेको समेत उनले उल्लेख गरेका छन् । भाइ नवराज अधिकारीको नाममा ९ कट्ठा जमिन पैतृक सम्पत्ति रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको उल्लेख गरेका मन्त्री अधिकारीले स्वआर्जनले जोडेको उल्लेख गरेका छन् । यस्तै, आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।

यस्तै मन्त्री अधिकारीले छोरा मनोज अधिकारीका नाममा भिजन इनर्जी (सङ्खुवासभा)को १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

डीपी अर्याल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनले सार्वजनिक गरेको विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उनले बताएका छन् । यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।

अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ । यस्तै उनकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको छ । सो सम्पत्ति व्यापारबाट प्राप्त भएको विवरण उनले सार्वजनिक गरेका हुन् ।

यस्तै विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन् । काठमाडौं १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।

रेखा शर्मा

नेकपा माओवादीबाट मन्त्री बनेकी हुन् शर्मा । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार शर्माले सम्पत्ति विवरणमा कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा ६ आना जग्गा र साढे २ तलाको घरसमेत रहेको उल्लेख गरेकी छन्।

प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ। सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उनको भनाइ छ।

मन्त्री शर्माको नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ।

उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन्। ६५ लाख ऋण लिएको, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि उल्लेख छ।

दामोदर भण्डारी
उद्योगमन्त्री दामोदर भण्डारीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार बावुको नाममा ६ कोठे कच्ची घर छ भने पाटन बैतडी र कञ्चनपुरमा ६ रोपनी २ कठ्ठा जग्गा छ । ६ तोला सुन भएका भण्डारीको करिब ८ लाख नगद पनि छ ।

प्रतिक्रिया दिनुहोस्