रविन्द्र अष्ट्रेलियन प्रतिद्वन्द्वी विरुद्ध भिड्दै



काठमाडौँ ।  नेपालका मिक्स्ड मार्सल आर्ट्स फाइटर रविन्द्र ढाँट शनिवार अष्ट्रेलियन प्रतिद्वन्द्वी कोरी सटक्लिफ विरुद्ध भिड्दै छन्। काठमाडौँको ठमेल स्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा हुन लागेको तेस्रो नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) को मुख्य बाउटमा रविन्द्र र कोरी भिड्न लागेका हुन् ।

रविन्द्रको पछिल्लो २ बाउट वान च्याम्पियनसिपमा रहेको थियो । वान च्याम्पियनसिपमा लड्ने पहिलो नेपाली बनेपछि उनी पहिलो पटक नेपालमा प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धाको दुई दिन अघि भएको सम्झौता हस्ताक्षर सहितको पत्रकार सेम्मेलनमा बोल्दै रविन्द्रले आफू फाइटमा लागि तयार रहेको बताए ।

‘फाईटको एक९दुई महिना अगाडि र फाईट पछि चाहिँ केही भएजस्तो हुने मात्र हो’, उनले भने,’फाईटमा पुगिसकेपछि त्यसमा ध्यान हुन्छ।’ उनका प्रतिस्पर्धी कोरीले पनि फाईटका लागि आफू तयार रहेको बताए । पछिल्लो समयमा भारतमा आफ्नो समय बिताइरहेका उनले नेपाली एमएमए बारेमा धेरै थाहा नभएपनि रविन्द्रको जानकार रहिरहेको बताए ।

‘नेपाली एमएमए क्षेत्रको बारेमा मा धेरै जानकार छैन । तर रविन्द्रको नाम चाहिँ सुनेको छु । उनको यात्राको बारेमा म जानकार छु’, कोरीले भने । आफ्नो प्रोफेशनल करियरमा ६-१ को रेकर्ड रहेका रविन्द्रको अपराजित यात्रा गत डिसेम्बरमा वान च्याम्पियनसिप अन्तर्गत पाकिस्तानका ईस्माइल खान विरुद्ध तोडिएको थियो । सो बाउटमा उनी तीन राउण्डपछि निर्णायकहरुको सर्वसम्मत निर्णय द्वारा पराजित भएका थिए ।

त्यसअघि वान च्याम्पियनसिप अन्तर्गत नै उनले रसियन टोरेप्चि डोनगाकलाई टेक्निकल नकआउट (टिकेओ) मार्फत पराजित गरेका थिए । सटक्लिफको भने प्रोफेशनल रेकर्ड २-१ रहेको छ ।एनडब्लुए ३ अन्तर्गत यस प्रतिस्पर्धा बाहेक अन्य ६ बाउटहरु पनि हुँदैछन् । सह९मुख्य बाउटमा नेपालकै सन्नी खत्री र भारतीय विशाल साहु प्रतिस्पर्धा गर्ने छन् । यसबाहेकका ५ प्रतिस्पर्धा भने एमेच्योर रहने छन् ।

बझाङका स्थायी बासिन्दा रविन्द्र परिवारको आर्थिक अवस्थाका कारण रोजगारीको खोजीमा भारत गएका थिए । उनले नेपालमा एसएलसी पूरा गरेर, भारतमा काम गर्दै कराते सिक्दै मिक्स्ड मार्सल आर्ट्सको तालिम लिन थालेका थिए ।दिविज पियाद्वारा सञ्चालित लक एन्ड रोल एमएमएमा केही वर्षदेखि उनी मार्सल आर्टमा सक्रिय रूपमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्