आईसीसी टी-२० विश्वकपमा समूह डी का प्रमुख अलराउण्डर



काठमाडौँ । कुनै पनि क्रिकेट टोलीमा अलराउण्डरको भूमिका महत्त्वपूर्ण हुन्छ । सधैँ प्रमुख ब्याटर वा बलर चल्छन् भन्ने हुँदैन । त्यस्तो अवस्थामा टोली अलराउण्डरमा निर्भर हुन्छ । त्यसैले अलराउण्डरलाई टी-२० मा बढी प्राथमिकता दिइन्छ ।

आईसीसी टी-२० विश्वकप २०२४ मा विश्वका उत्कृष्ट अलराउण्डरहरु खेल्नेछन् । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । समूह डी मा सानदार प्रदर्शन गर्न सक्ने ५ प्रमुख अलराउण्डर यस प्रकार छन् ।

दीपेन्द्रसिंह ऐरी– नेपाल

नेपाली क्रिकेटका टाइगर दीपेन्द्रसिंह ऐरी थ्री डि क्रिकेटर हुन् । अर्थात् उनले ब्याटिङ, बलिङमात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्छन् । दीपेन्द्रले फिनिसरको भूमिका निर्वाहसँगै अफ स्पिन बलिङ गर्दछन् ।

दुई महिनाअघि कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । उत्कृष्ट फिल्डर समेत रहेका दीपेन्द्रले कुनै पनि समय बलिङ गर्न सक्छन् ।

दीपेन्द्र वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट अलराउण्डर समेत हुन् । आईसीसीको टी-२० अलराउण्डरतर्फ १०औं स्थानमा छन् । २४ वर्षीय उनले नेपालबाट ६४ टी-२० आई खेलमा १ शतक र ९ अर्ध शतकसहित १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् ।

बास डि लिडे -नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट म्याच विनर अलराउण्डर हुन् । इंग्ल्यान्डको धुरमबाट काउन्ट्री खेल्ने उनले मध्यक्रममा ब्याटिङसँगै मध्यगतिमा बलिङ गर्ने गर्दछन् ।

सन् २०२३ को आईसीसी उत्कृष्ट एशोसिएट अलराउण्डर अवार्ड उनले नै जितेका थिए । गत वर्ष नेदरल्यान्ड्सलाई एकदिवसीय विश्वकपमा पुर्‍याउनमा निर्णायक छनोट खेलमा उनले स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

त्यस्तै २०२२ को टी९२० विश्वकपमा नेदरल्यान्ड्सलाई सुपर १२ मा पुर्‍याउन उनको योगदान महत्त्वपूर्ण थियो । लिडेले नेदरल्यान्ड्ससँग ३४ टी-२० आई खेलमा ४ अर्ध शतकसहित ६७७ रन बनाउनुको साथै ३० विकेट लिएका छन् ।

सकिब अल हसन-बङ्गलादेश

बङ्गलादेशका कप्तान सकिब अल हसन विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउण्डर हुन् । बङ्गलादेशका सर्वाधिक सफल अलराउण्डर उनले मध्यक्रममा ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् ।

सन् २००७ देखि सबै टी-२० विश्वकप खेल्दै समेत आएका छन् । ३७ वर्षीय अनुभवी अलराउण्डर सकिबसँग १२२ टी-२० आई खेलको अनुभव छ । उनले टी-२० आईमा १४६ विकेट लिनुको साथै २४४० रन बनाएका छन् । बंगलादेशलाई सुपर ८ सम्म पुग्न उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

वानिन्दु हसरंगा-श्रीलङ्का

कप्तान वानिन्दु हसरंगा श्रीलंकाका प्रमुख अलराउण्डर हुन् । उनले लेग स्पिनसँगै मध्यक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछन् । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट युवा स्पिनर समेत हुन् । उनीसँग बलिङमा थुप्रै भेरिएसन छ । २६ वर्षीय उनले ६५ टी-२० आई खेलमा ६५० रन बनाउनुको साथै १०४ विकेट लिएका छन् ।

मार्को यानसन- दक्षिण अफ्रिका

समूह डी को सबैभन्दा मजबुत टोली दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलिङ अलराउण्डर मार्को यानसन अर्को आशालाग्दा क्रिकेटर हुन् । छोटो समयमा उनले दक्षिण अफ्रिकाबाट राम्रो प्रभाव छाडि सकेका छन् । २३ वर्षीय बायाँ हाते बलर उनले ४ टी-२० आई खेलमा ६ विकेट लिएका छन् । तर उनीसँग विदेशी फ्रेन्चाइज लिग खेलेको अनुभव छ । तीव्र गतिसँगै उनले तल्लोक्रममा आक्रामक क्रिकेट खेल्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्