बालेनबारे ओलीको कटाक्ष : अर्काको ढोकामा फोहोर फ्याँक्ने कुनै सभ्यता हो ?



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाले हालै सडक विभाग र काठमाडौँ डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई उल्लेख गर्दै ओलीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए ।

शनिवार पार्टीको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको कार्यक्रममा ओलीले बालेन र काठमाडौँ महानगरपालिकाको नाम त लिएनन् तर घरअगाडि फोहोर फालेको प्रसङ्ग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताएका हुन् । उनले भने, ‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने रु यो कुनै सभ्यता हो । ?’

महत्त्वपूर्ण पदमा बसेको व्यक्तिले त्यस्तो व्यवहार गर्नु उचित नहुने भन्दै उनले त्यसको विरोध गर्न डराउन नहुने बताए ।‘यो महत्त्वपूर्ण पोस्टमा बस्ने मान्छेले गर्न मिल्ने व्यवहार होइन, त्यत्ति पनि भन्न सकिँदैन, लाचारीबाट फाइदा लिएर एउटा एनार्किजमको बोलवाला भइरहेको छ, हामीले हाम्रो समाजलाई एनार्किस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो’, ओलीले भने ।

यस्तो प्रवृत्तिको पनि कसैले विरोध गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए । ‘म छक्क पर्छु, कत्ति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई रु कसैले अर्काको ढोकामा फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यो भनेर कसैले भन्न सक्दैन ।’‘उनीहरूको एउटा मण्डली हुन्छ, त्यो मण्डलीले वाह जन्मिएछ एउटा बहादुर क्याबात लेख्छ, अनि अरू चुप लागेर झोक्राएर बस्छन् । यत्ति पनि सत्य भन्न सकिँदैन यो त सभ्य तरिका भएन, यो आधुनिक सभ्य समाजलाई सुहाउँदो तरिका भएन ।’

प्रतिक्रिया दिनुहोस्