अमेरिकाबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाजा



काठमाडौँ । ४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन भित्र २० किलो गाजा भेटिएको छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिएको थियो ।  भन्सारका कर्मचारीले शङ्कास्पद देखेपछि वासिङ मेसिन खोलेर हेर्दा फल्स बटन बनाएर २० किलो गाँजा फेला पारेका हुन् । गाँजा भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई खबर गरेको थियो ।

ब्यूरोको टोलीले वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौँबाट मुद्दा दायर गरेको छ । १० किलो भन्दा बढी गाँजा ओसारपसार गरेको भन्दै उनीहरुविरुद्ध दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

सुखल दम्पतीले करिब २ वर्षअघि सुशान्त इम्पेक्स नामक दर्ता गरेर विदेश सामान पठाउने काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेका दम्पतीले उक्त गाँजा आफूहरूले नमगाएको दाबी गरेका छन् । गत २ चैत २०८० मा सुखलसँग चिनजान भएका विशाल जैसवालले आफूहरूको कम्पनीमार्फत वासिङ मेसिन मगाएको र त्यसभित्र गाँजा भेटिएको भनाइ उनीहरूको रहेको छ ।

सबै खर्च बेहोर्ने भन्दै विशालले अर्डर गरेपछि वासिङ मेसिन अमेरिकाबाट आफूहरूको कम्पनीको नाममा आएको उनीहरूको भनाइ छ । नार्थन आर मिचेलीको नाममा अमेरिकामा रहेको किस बैङ्कको खाता मार्फत रकम भुक्तानी गरेर वासिङ मेसिन खरिद गरेर पठाइएको अनुसन्धानबाट खुलेको छ ।

उक्त वासिङ मेसिन मगाउने व्यक्तिले सुरुमै १ लाख ५५ हजार शान्तिको प्रभु बैङ्कको खातामा जम्मा गरेको प्रहरीले भेटेको छ । सोही रकमबाट भन्सार शुल्क वापत भन्सार एजेन्ट सागर अर्यालको खातामा रकम हालिएको दम्पतीको बयान छ ।

भन्सार एजेन्टलाई रकम बुझाएपछि वासिङ मेसिन लिन पुगेका बेला शान्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनकै बयानका आधारमा श्रीमान सुखललाई चन्द्रागिरीबाट ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्