कुस्ती सिकाउँदै नगरपालिका, हरेक दिन दूध र अन्डा वितरण



बारा: चलनचल्तीको लोकप्रिय क्रिकेट, फुटबललगायत अन्य खेल संरक्षण र प्रवद्र्धनका लागि थुप्रैले लगानी गरिरहेको पाइन्छ । स्थानीय तहदेखि संघीय सरकारको समेत यसप्रति चासो देखिन्छ । तर हराउँदो प्राचीनकालीन कुस्ती खेललाई जोगाउन कसैले चासो नदिँदा यहाँको एक नगरपालिकाले कुस्ती संरक्षणका लागि बजेट नै छुट्याएर कुस्ती सिकाउन थालेको छ । ४ जना अन्तर्राष्ट्रिय र राष्ट्रिय कुस्ती खेलाडीलाई प्रशिक्षक राखी कुस्ती अभ्यासशाला नै बनाएर कुस्ती खेलाउन सुरु गरिएको हो ।

 

जिल्लाको महागढीमाई नगरपालिकाले आफ्नै कार्यपालिकाको कार्यालय हाताभित्र अँखाडा (माटोको मैदान) बनाएर कुस्ती प्रशिक्षण दिन थालेका हुन् । प्रशिक्षक कुस्ती खेलाडीको खाना र आवाससहितको व्यवस्था गरेर तीन महिनादेखि स्थानीय इच्छुक युवाहरूलाई कुस्ती सिकाउँदै आएको छ । कुस्ती सिक्नेहरूका लागि नगरपालिकाले प्रत्येक दिन दूध, अन्डा, फलफूल दिँदै आएको छ ।

 

नगरपालिकाभित्र प्रवेश गर्ने वित्तिकै कुस्तीका जोडीहरू भिडिरहेको देखिन्छ । उनीहरू साँच्चिकै हारजितका लागि कुस्ती प्रतियोगिता खेल्दैनन्, सेवाग्राही र आगन्तुकका लागि कहिलेकाहीं मनोरञ्जन दिलाउन लंगौटी कसेर एकापसमासमेत भिड्छन् ।

 

‘प्राचीनकालीन पौराणविक कुस्ती खेल लोप हुने अवस्थामा छ । न राज्यले संरक्षण गर्न सकेको छ, न त खेलाडीको मनोबल उच्च राख्न कुनै क्रियाकलाप गरेको देखिन्छ, त्यसैले आफूले नगरबाट चालु वर्षमा ६ लाख बजेट छुट्याएर कुस्ती सिकाउन थालेका छौं,’ नगर प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘यसबाट कुस्तीको संरक्षण पनि हुन्छ । र, खेलाडीको आत्मबल बढ्नुसँगै सम्मान समेछ हुन्छ ।’

 

आवश्यताअनुसार बजेट थपेर खेल मैत्री वातावरणको विकास गर्ने उनले बताए । कुस्ती लोप न होस् र यसप्रति युवाको आकर्षण रहिरहोस् भन्ने उद्देश्यसहित प्रशिक्षकको खाना र आवासहित नगरको आफ्नै प्राङ्गणभित्र कुस्ती सिकाइने गरिएको उनले बताए ।

 

‘कुस्ती प्रशिक्षण केन्द्र स्थापित गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा कुस्तीको पहिचान दिलाउने र कुस्ती खेलाडी उत्पादन गर्ने योजना छ,’ नगर प्रमुख यादवले भने, ‘नगरपालिमा आउने जोकोही सेवाग्राही तथा आगन्तुकलाई अनिवार्य रूपमा चिया र पानी खुवाएर स्वागत गरी कुस्ती खेलले मनोरंजन दिलाउँछौं ।’

 

कुस्ती प्रशिक्षण केन्द्रको उद्घाटन उनले प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई बोलाएर उद्घाटन गराएका थिए । ‘यस कुस्तीले मधेसको संस्कृतिको संरक्षण गर्छ । र राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग मिल्छ,’ उनले भने ।

 

कोरिया, बंगलादेश, पाकिस्तान र भारतजस्ता मुलुकमा भएको कुस्ती प्रतियोगितामा भाग लिइसकेका कुस्ती प्रशिक्षक सत्येन्द्र यादवले विद्यार्थीको पाठशाला झैं कुस्तीको खेलाडीका लागि अखँडा बनाइ दिएर कुस्ती अभ्यासशाला सुरु गरेको प्रति खुसी व्यक्त गरे । उनी अन्तर्राष्ट्रिय स्तरका खेलाडी हुन् ।यस्तै चार प्रशिक्षकमध्ये अर्का कुस्ती खेलाडी प्रशिक्षक किशोरी राय यादवले नगरपालिकाले कुस्तीको विकासका लागि सोंच बनाएर हाम्रो मनोबल बढाएको बताएका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्