४८ दिनपछि बसेको प्रदेशसभा २० मिनेटमै सकियो



हेटौँडा: ४८ दिनपछि सोमबार बसेको प्रदेश ३ सभा बैठक २० मिनेटमै सकिएको छ । सोमबार दिउँसो ११ बजेका लागि बोलाइएको बैठक २० मिनेट ढिलो बसेर २० मिनेटमै सकिएको हो । अर्को बैठक मंगलबार दिउँसो १२: १५ मा बोलाइएको छ ।

 

कार्यसूचीमा धेरै बुँदा उल्लेख गरिए पनि समय खर्चनुनपर्ने भएकाले थोरै समयमै बैठक सकिएको प्रदेश सभा सचिव रामशरण घिमिरेले जानकारी दिए । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाएका थिए भने पाँचवटा विधेयक प्रस्तुत भएका थिए ।

 

विधेयकमाथि सुझाबसहित प्रतिवेदन पेस

प्रदेश सभाबाट दफावार छलफलका लागि विभिन्न समितिमा पठाइएका पाँचवटा विधेयक सुझाबसहित बैठकमा पेस गरिएका छन् । अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश कार्यसञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रतिवेदन, शिक्षा, स्वास्थ्य, कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयकमाथिको प्रतिवेदन पेस गरेका हुन् ।

 

प्रदेशमामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेश संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रतिवेदन र प्रदेश सञ्चारमाध्यम व्यवस्थापनसम्बन्धी विधेयकमाथिको प्रतिवेदन पेस गरेका नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्