मंगल ग्रहमा वैज्ञानिकरूको यतिधेरै चासो किन ?



मंगलग्रहमा पठाइएको इन्साइट ल्याण्डर

रातो ग्रह अर्थात् मंगल ग्रह। के त्यहाँ जीवको अस्तित्व सम्भव छ? विज्ञानको एउटा चासोको विषय हो यो।

 

पृथ्वीभन्दा बाहिर कतै मानिस हुन सक्छन्? यो त झन् चुनौतीपूर्ण प्रश्न हो। यति ठूलो ब्रह्माण्डमा पृथ्वीको हिस्सा एकदम न्यून हो। परन्तु अन्तरिक्ष विज्ञानले अध्ययनको सुरुवात पृथ्वीकै उपग्रह चन्द्रमाबाट सुरु गर्‍यो भने यो क्रम पृथ्वीसँगै मिल्दोजुल्दो मानिने मंगल ग्रहसम्म पुगेको छ।

 

मंगल ग्रहमा मान्छेको अस्तित्व कठिन छ भनिनाकाे कारण त्यसको सतहमा आइरन अक्साइड रहेकाले हो। परन्तु यो ग्रहको अध्ययन गर्दै पृथ्वीबारे थप रहस्य पत्ता लगाउने विज्ञानको एउटा प्रयासको एउटा अध्याय यसै साता सुरु हुनेछ।


महत्वपूर्ण तथ्य

मंगल ग्रहमा जीवको सम्भावना, यसको उत्पति, पृथ्वीसँगको समानता र यसमार्फत सौर्यमण्डलको थप जानकारी लिने उद्देश्य गत ५ मे (२२ वैशाख) मा ‘एटलास भी ४०१’ मार्फत पृथ्वीबाट उडेको अमेरिकी अन्तरिक्ष कम्पनी (नासा)को ‘इन्साइट स्पेसक्राफ्ट’ ले सोमबार (१० मंसीर) रातिदेखि नै मंगल ग्रहमा आफ्नो काम सुरु गर्ने छ।

 

यो इन्साइटले सन् २०२० सम्म आफ्नो कामलाई जारी राख्नेछ। पृथ्वी र मंगलग्रहको उत्पति एकै समयमा भएको वैज्ञानीक अनुमानअनुसार मंगल ग्रहको अध्ययनले पृथ्वीको अध्ययनलाई पनि सहज बनाउने छ।

 

इन्साइटले मंगलमा प्रवेश गर्नुअघि ७ मिनेट पातलो वायु मण्डल पार गर्नुपर्ने हुन्छ जसलाई ‘सेभेन मिनेट टेरर’ को संज्ञा दिइएको छ। यसअघि मानिससहित उपस्थित हुने प्रयास भए पनि यो संभावना ५० प्रतिशतभन्दा कम रहेको नासाका प्रमुख वैज्ञानिक थोमस जर्बुचेनले बताएका छन्।

 

सन् २००७ मा नासाले ‘फोनिक्स प्रोब इन मार्स’ को रुपमा सफल प्रक्षेपण गरेको थियो। त्यसबेला प्रयोग गरिएका ढाल, प्यारासुट र रकेट अहिले पनि छन्। यस कारण पनि यो अभियान सफल हुने अनुमान गरिएको छ। यस संयन्त्र निर्माणमा संलग्न क्यालिफोर्नियास्थित जेट प्रपुल्सन लेबरेटरी क्याम्पसका इन्जिनियरहरू पनि हरेक संभावित दुर्घटनाप्रति सचेत रहेको बताउँछन्।

 

यो स्पेसक्राफ्ट हेर्दा सन् १९६०-७० मा चन्द्रमा यात्राका लागि प्रयोग भएको एपोलोजस्तै देखिन्छ। सुरुवातदेखि नै १२ हजार ३ सय माइल प्रतिघन्टा गतिमा उड्ने यो यान १२ डिग्रीको ढल्काइमा रहने छ। मंगलको वायु मण्डलमा प्रवेश गरेको ६ मिनेट ४५ सेकेन्डपछि यो जमिनमा पुग्नेछ।

 

यी सबै प्रक्रिया पुरा हुन ७ मिनेट लाग्नेछ। मंगल ग्रहमा हुन हरेक गतिविधिको जानकारी अथवा रेडियो सिग्नल पृथ्वीमा आइपुग्न ८ मिनेट ७ सेकेन्ड लाग्नेछ।

 

यो इन्साइटर इलुसियम प्लानिटयामा अवतरण हुनेछ। आइतबारसम्म यो अभियानमा संलग्न वैज्ञानिक र इन्जिनियरहरूले मंगल ग्रहको वातावरणमा धुलो वा हावाहुरीका कारण हुन सक्ने कठिनाइबारे अध्ययन गरिसकेका हुनेछन्।

 

पृथ्वीमा रहेको टेलिस्कोपले यस बीचमा सबै कुराको जानकारी लिइरहेको हुन्छ। यसैगरी, मंगल ग्रहबाट सूचनासहित साना दुइ स्याटलाइट फर्कनेछन्। यसबाट त्यहाँको वातावरणबारे जानकारी हुनेछ।

 

इन्साइटरले त्यहाँ पुगेको ३० मिनेटमै केही सूचना पठाइसक्नेछ। प्रारम्भिक जानकारीका लागि पृथ्वीमै सम्पूर्ण उपकरण तयार गरिएका छन्।

 

यो ब्रम्हाण्ड कसरी बन्यो? यो सबैको चासो हो। यसैका लागि मंगल ग्रहको अध्ययन उपयोगी हुने अनुमान गरिएको नासाले बाहिरी कोरदेखि ‘कस्ट’ सम्म तीन चरणको अनुसन्धान गर्नेछ।

 

तीनवटा अनुसन्धान मध्येकै पहिलो प्याकेजक रूपमा ‘फ्रान्को ब्रिटिस सेसोमिटर’ छ। यो प्याकेजअन्तर्गत मंगल कम्पको मापन गर्दै चट्टानको सतह अध्ययन गर्ने र ‘यो कसरी बनेको छ भन्ने पत्ता लगाउने नै हुनेछ। दोस्राे प्याकेज जर्मन ‘मोलो’ रहेकाे छ। यसअन्तर्गत इन्साइटले ५ मीटर गहिराइमा छेडेर तापक्रम लिनेछ।

 

यसले मंगल ग्रह कतिकाे सक्रिय छ भन्ने अनुमान गर्न सहज हुनेछ। तेस्राे प्याकेजअन्तर्गत रेडियो विकिरण प्रयोग हुनेछ। पहिलो ‘कोर’ ठोस छ या तरल ? याे अनुमान गर्न यसले सहयोग गर्नेछ। साथै, ‘कोर’ कत्तिसम्म छ? अर्थात्, यसको आकारबारे जानकारी लिन सजिलो हुनेछ।

 

वैज्ञानिकहरुको चासो ‘मंगल ग्रहको अध्ययनमा नै किन?’ याे उत्सुकता धेरैलाई हुनसक्छ। पृथ्वीकोे सतहबारे विज्ञानले धेरै कुरा पत्ता लगाइसकेको छ। यसको व्याख्या कसरी गर्ने भन्नेबारे एउटा मोडल नै तयार भएको छ।

 

चार सय ५० करोड वर्षअघि सौर्य मण्डल अध्ययनका लागि पृथ्वी एउटा महत्वपूर्ण आधार विन्दु हो। तर, ‘यो चट्टानरुपी पिण्डमा कसरी सृष्टि संभव भयो त?’ यी लगायत अनेकौँ अध्ययनका लागि विज्ञानले एउटा अर्को ग्रहको अध्ययन जरुरी ठानेको थियो। यसका लागि मंगल ग्रह उपयुक्त मानिएको हो।

 

यो अभियानका प्रमुख वैज्ञानिक हुन् ब्रुस बर्नाड। ‘शुक्र ग्रहमा पुग्दा जलेर मरिन्छ, मंगलमा पुग्दा चिसिएर,’ उनी भन्छन्, ‘पृथ्वीमा मात्र कसरी यसरी बस्न संभव भयो? यही आश्चर्य पत्ता लगाउनु हाम्रो मुख्य चुनौति हो।’


अध्ययनको सुरुवात 

सत्रौँ शताब्दीको सुरुवातदेखि नै मंगलग्रहबारे चर्चा सुरु भएको पाइन्छ। १८औँ शताब्दीको अन्त्यमा जीवको सम्भावनाबारे धेरैको चासो बढ्न थाल्यो। सन् १८५४ मा ट्रिनिटी कलेजका प्राध्यापक विलियम हास्चेलले मंगलमा समुद्र र पोखरी रहेको तथा जीव पनि हुन सक्ने बताएका थिए।

 

१९औँ शताब्दीको मध्यताका मंगल र पृथ्वीमा धेरै समानता भएको तथ्य पत्ता लाग्यो। जस्तो, दुवै ग्रहमा दिउँसोको अवधि झण्डै बराबर हुन्छ। वर्ष भने मंगल ग्रहमा केही लामो हुन्छ।

 

त्यसो त सन् १८९४ मै अमेरिकी वैज्ञानिक विलियम विलियम वालेस क्याम्बेलले मंगलको वातावरणमा अक्सिजन र पानीको कुनै अंश नभएको बताउँदै त्यहाँ जीवनको अस्तित्व हुन नसक्ने अनुमान गरेका थिए। सन् १९०९ देखि उच्चस्तरका दुरविनहरूको प्रयोग भएका कारण यस पछिका घटना तथ्यपरक मानिन्छन्।

 

पछिल्लो अध्ययनबाट मंगल ग्रहको वायुमण्डलमा प्रसस्त कार्बनडाइअक्साइड भएको पत्ता लागिसकेको छ। तर पनि पृथ्वीमा हालसम्म रहेको तापक्रमभन्दा मंगल ग्रहको तापक्रम कम छ। पछिल्लो अध्ययनले पृथ्वीमा झैँ मंगल ग्रहको माटोमा पनि सल्फर, नाइट्रोजन, हाइड्रा्ेजन, अक्सिजन, फोस्फोरस र सम्भवतः कार्बन पनि भएको तथ्य फेला पारेको छ। यी सबै जीवनको अस्तित्वका लागि आवश्यक हुन्।

 

वैज्ञानिकहरुले ४४ पटक मंगल ग्रहमा जाने प्रयास गरिसकेका छन्। तीमध्ये १८ पटक सफलता मिलेको छ। तीनपटक अर्बिटबाटै यानहरु फर्किएका छन्। अन्यमा पूर्ण असफलता हात लागेको छ।


जीवनको सम्भावना 

मंगल ग्रहसम्बन्धी पहिलो चासो नै यही हो। सन् १९७६ मा नासाले ‘भाइकिङ ल्यान्डर’ मार्फत पहिलोपटक जीवको अस्तित्वसम्बन्धी अध्ययन सुरु गरिएकाे थियो। उसले मंगल ग्रहको माटो ल्यायो। तर, यसले केही पनि ‘अर्गानिक मोलिक्यु’ को संकेत नै गरेन।

 

सन् १९९६ को जुलाइमा त्यहाँ ढुसी परेको थियो। जसबाट पहिलोपटक ब्याक्टेरियाको अस्तित्व मंगल ग्रहमा देखियो। १२ हजार वर्षअघि अन्टार्टिकामा झैँ त्यहाँ पनि ‘मेटोराइट’ देखिएको थियो। यही अध्ययनका लागि वैज्ञानिकहरुले थप दुई वर्ष बिताए। त्यति बेलाको अध्ययनको निष्कर्षप्रति वैज्ञानिकहरु अझै अडिग छन्।

 

सन् २००० को सुरुवातमै मंगल ग्रहमा मिथाइन ग्यास भएको पत्ता लाग्यो। पृथ्वीमा पनि रहेको यो ग्यास माइक्रोबाइलोजिकल कुनै जीवबाट उत्पन्न हुने भएकाले मंगल ग्रहमा पनि कुनै जीवको अस्तित्व रहेको अनुमानलाई अझ बल पुग्यो।

 

पछि त्यहाँ एउटा पोखरी पनि फेला प-यो। पोखरीका कारण मंगल ग्रहमा जीवको अस्तित्व छ भन्ने अनुमानलाई झनै दरिलो बनायो। सन् २०१८ मा राडारको प्रयोगमार्फत दक्षिण ध्रुवमा फेला परेको पोखरीले यो संभावना अझ दरिलो बनाएको छ।

 

सन् २०२० मा १.८ किलोग्रामको एउटा हेलिकोप्टर पनि मंगल ग्रहमा जाँदैछ। यसले थप तथ्य पत्ता लगाउने अनुमान गरिएको छ। अन्तरिक्ष विज्ञानको लामो इतिहासमा आज अर्थात् २६ नोभेम्बर एउटा महत्वपूर्ण दिनका रुपमा रहनेछ ।

 

सायद सौर्य मण्डलबारे महत्वपूर्ण रहस्य पत्ता लगाउने क्रममा एउटा महत्वपूर्ण अध्यायको सुरुवात पनि हुन सक्नेछ यो दिन। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्