एसइई १० चैतबाट, केन्द्रमा प्रश्नपत्र र प्रदेशमा उत्तरपुस्तिका तयार हुँदै



काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताए । देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उनले बताए ।

गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताए ।

सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै

सातवटै प्रदेशले एसइईको उत्तरपुस्तिका छपाइका लागि सम्झौता गरेका छन् । उनीहरूले जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता गरी छपाइको प्रक्रिया अघि बढाएका हुन् ।

प्रदेशका कतिपय सामाजिक विकास मन्त्रालय र केही प्रदेशको क्षेत्रीय शिक्षा निर्देशनालयले सम्झौता गरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेश तिमिल्सिनाले बताए ।

उत्तरपुस्तिकाका लागि सातवटै प्रदेशले सम्झौता गरिसकेको उनले बताए । पुससम्म छपाइको काम हुने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्