यसरी जित्न सकिन्छ सुन्दरी प्रतियोगिता



मिस नेपाल शृंखला खतिवडा चीनमा जारी ६८औँ संस्करणको मिस वल्र्ड (विश्व सुन्दरी) प्रतियोगिताको सेमिफाइनलमा पुगेकी छिन् । एक सय २१ देशका प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल हुँदै उनले सेमिफाइनलको यात्रा तय गरेकी हुन् । मिस वल्र्डको इतिहासमै नेपालले पाएको यो सबैभन्दा ठूलो सफलता हो ।

 

आगामी डिसेम्बर ८ मा हुन लागेको फाइनलमा उनी मिस वल्र्ड हुने र नहुने तय हुनेछ । सामाजिक सञ्जालमा शृंखलाको चर्चा भइरहेका वेला हामीले मिस नेपाल हुँदै मिस वल्र्डसम्मको उपाधि जित्नका लागि कस्तो फिटनेस र बौद्धिकता आवश्यक छ भनेर पूर्वमिस नेपाल माल्भिका सुब्बालाई जिज्ञासा राख्यौँ ।

 

उनको सुझाब सौन्दर्य कायम राखिराख्न सबैभन्दा पहिला आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । शारीरिक रूपमा फिट रहन स्वस्थ आहारको आवश्यकता पर्दछ । खानाको प्रकृतिले शारीरिक बनोटलाई प्रत्यक्ष रूपमा प्रभावित पारिरहेको हुन्छ । तसर्थ, मिस नेपालले दैनिक प्रयोगमा ल्याउने खानेकुरामा विशेष ख्याल पुर्‍याउनुपर्छ । सौन्दर्य कायम राख्न छालाको राम्रो स्याहार गर्नुपर्दछ ।

शरीर सन्तुलन राख्न सागसब्जी, फलफूल र प्रशस्त पानी पिउनुपर्छ । शारीरिक व्यायाम नियमित गर्नुपर्छ । शरीरलाई सुगठित बनाउन जिम जान आवश्यक छ । तर, कतिपय अवस्थामा दैनिक गरिने साधारण व्यायामद्वारा पनि फिट रहन सकिन्छ । अझ राम्रो त आफूलाई सधैँ व्यस्त राख्नु हो ।

मेकअप गर्न आवश्यक छ । तर, आफ्नो छालाको प्रकृति हेरेर मात्रै मेकअपका प्रसाधन प्रयोगमा ल्याउनुपर्छ । कतिपय कस्मेटिक प्रसाधन सस्तोमा पाइन्छ । यद्यपि, तिनले छालामा असर पुर्‍याउने गर्छन् । यसतर्फ सचेत हुनुपर्छ ।

 

बरु अलिकति महँगो किन नहोस्, राम्रै ब्रान्डको मेकअप प्रयोग गर्नु बुद्धिमानी हुन्छ । फेरि, मेकअप सधैँ गरिराख्नुपर्छ भन्ने छैन । घरमा बस्दा या बेलुका मेकअप उतारेर बस्दा हुन्छ । घरमा बसेका वेला मोस्चराइजर प्रयोग गर्न सकिन्छ ।

 

सामान्यतया मिस नेपाल हुनलाई ब्रेन विथ ब्युटी (बौद्धिकतासहितको सौन्दर्य) को विचार फलो गरिन्छ । मानसिक तवरले पनि फिट रहन जरुरी हुन्छ । कुनै पनि उच्च प्रतिस्पर्धात्मक काम गर्दा डर अवश्य हुन्छ । तर, डरको सामना गरेर आफ्नो उद्देश्य पछ्याउने हो भने लक्ष्य पूरा गर्न सकिन्छ ।

मिस नेपाल हुन या त्योभन्दा पनि अघि बढ्नलाई हरेक कुराको ज्ञान हुन जरुरी छ । आत्मविश्वास अझ हुनुपर्छ । उनीहरूले देश–विदेशमा के भइरहेको छ, थाहा पाउनुपर्छ । घटना र समाचारसँग अपडेट हुनुपर्छ । सकेसम्म बोल्ने कार्यक्रममा सहभागी हुने, पत्रपत्रिका पढ्ने, नयाँ मानिससँग भेट्ने, नयाँ कुरा हरेक दिन सिक्ने गर्नाले बौद्धिक स्तर बढाउन सकिन्छ । जसले आफ्नो आत्मविश्वास बढाउँछ । लक्ष्यमा पुग्न सहज हुन्छ ।

प्रस्तुती : मञ्जु टेलर

प्रतिक्रिया दिनुहोस्