जानकी लीला दर्शनको तयारी सुरु



जनकपुरधाम: जनकपुर उपमहानगरपालिकाले शहरभित्रका तीन पोखरीमा हुन लागेको जानकी लीला दर्शनको तयारी सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले 'जनकपुरधाम सरसफाई तथा पोखरी संरक्षण आयोजना' अभियानमा ऐतिहासिक गंगा सागर, धनुष सागर र अंगराज सर पोखरीमा म्यूजिकल फाउण्टेन मार्फत् जानकी लीला दर्शन गराइने जानकारी दिए ।

 

आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी साहले खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको सह-लगानी, खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय र जनकपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार म्यूजिकल फाउण्टेन मार्फत् लीला दर्शन गराइने बताए ।

 

म्यूजिकल फाउण्टेनद्वारा विशेष सजावट गरी जानकी दर्शनको दृश्यावलोकन गर्न मिल्ने गरी काम हुने साहले बताए । पहिलो चरणमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २५ (लोहाना) को तीन वटा ऐतिहासिक सरोवरको सौन्दर्यीकरण गरिने उनले बताए । साहले तीन पोखरीलाई विशेष सजावट र ३१ ओटा पोखरीमा पार्क, लाइट र घुम्ने ठाउँ सहित बस्ने व्यवस्था गरिने जनाए ।

 

कुल १ अर्ब २ करोड ८० लाख लागतमा पहिलो चरणमा उपमहानगरपालिकाले १ देखि १६ वडासम्म ३३ किलोमिटर सौन्दर्यीकरण गर्नेछ । आयोजना अन्तर्गत ३१ वटा पोखरी सरसफाई र सम्बर्द्धन गर्ने, बाह्र बिघा रंगभूमि मैदानलाई सरसफाई तथा सम्बर्द्धन गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुरधाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने काम दुई वर्षमा सम्पन्न गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्