चितवनमा कर संकलन दोब्बर



चितवन: भरतपुर महानगरपालिकाको आन्तरिक आयमा सुधार देखिएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षमा दोब्बरले आन्तरिक आय वृद्धि भएको हो । आर्थिक वर्ष ०७५/०७६ को पहिलो चार महिनामा १३ करोड ९४ लाख संकलन भएको छ । सम्पत्ति कर, नक्सापास, सिफारिस शुल्क तथा घरबहाल करबाट उठेको रकमको हिस्सा धेरै छ ।

 

गत वर्ष यही अवधिमा जम्मा ७ करोड २२ लाख ५८ हजार ७ सय ६७ रुपैयाँ संकलन भएको थियो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा संकलित कर आर्थिक वर्ष ०७०÷०७१ को वर्ष भरि संकलित करबराबर हो ।

 

५५ करोड  संकलन गर्ने लक्ष्य

महानगरले चालू आर्थिक वर्षमा ५५ करोड कर संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ३० करोड मात्र संकलन भएको थियो ।

 

अब सबै वडाबाट कर  संकलन गर्छौं :  मेयर दाहाल

आन्तरिक आय तीव्र रूपमा वृद्धि हुनुमा भौतिक पूर्वाधार निर्माणमा जनसहभागिता महत्ववपूर्ण रहेको मेयर रेणु दाहालले बताइन् । जनतामा कर तिर्नुपर्छ भन्ने भावनाको क्रमशः विकास हुँदै गएकाले पनि कर संकलन बढेको उनले बताइन् ।

उनले हाल केही वडाबाट मात्र कर संकलन हुने गरेकामा आगामी महिनादेखि महानगरका सबै वडाबाट संकलन थालिने समेत बताइन् । कर संकलनका लागि नेपाल टेलिकमसँग सहकार्य भइरहेको समेत उनले बताइन् । क्षमताका आधारमा सबैलाई करको दायरामा ल्याउनु, घरबहाल करलाई व्यवस्थित र वैज्ञानिक बनाउनु, करमा एकरूपता ल्याउन छिमेकी स्थानीय तहसँग सहकार्य गर्नु, नयाँ करको क्षेत्र पहिचान गर्नु कर संकलनका लागि चुनौतीको विषय बनेको मेयर दाहालले बताएकी नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्