स्वर्णिम वाग्लेलाई कम्युनिकेसन अवार्ड



काठमाडौं : यस वर्षको ‘कम्युनिकेसन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ । 

 

नेपाल टोस्टमास्टर्सले शनिबार आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैर टोस्टमास्टर सदस्य डा. वाग्लेलाई प्रदान गरिएको हो । नेपालमा टोस्टमास्टर्सको गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र करिब ५०० सदस्यका साथमा पहिलो पटक डिभिजन सम्मेलन आयोजना गरेको हो । 

सम्मेलनमा सहभागी पाँच सय सदस्यमध्ये २५० सदस्य नेपालका कर्पोरेट, बैंकर, व्यावसायिक व्यक्तित्व, शिक्षक, पर्यटक, उद्यमी, कार्यकारी, सल्लाहकार, मिडिया व्यक्तित्व र कार्यरत व्यवसायीदेखि कलेजका युवा विद्यार्थी छन् । बाँकी सहभागी भारतलगायतका मुलुकका छन् । सम्मेलनको नारा ‘सिक्नु, नेतृत्व गर्नु र लाभ उठाउनु’ भन्ने रहेको छ । 

 

कार्यक्रममा नेपालका डिभिजन निर्देशक तथा विशिष्ट टोस्टमास्टर्स रञ्जित आचार्य र एसोसिएट क्लब ग्रोथका निर्देशक तथा प्रतिष्ठित टोस्टमास्टर सुमन शाक्यले सम्मेलनले नेपालका अन्य सहरमा पनि टोस्टमास्टर्स विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

रासस

प्रतिक्रिया दिनुहोस्