विद्युतीय सवारी योजनाबाट पछि हट्यो महानगर



काठमाडौं : राजधानीका केही स्थानमा विद्युतीय सवारीसाधन चलाउने योजनाबाट काठमाडौं महानगरपालिका पछि हटेको छ । व्यस्त बजार र भीडको कारण देखाउँदै महानगरले यो योजनालाई पूर्णता दिन नसकेको हो । 

महानगरपालिकाले वसन्तपुर, न्युरोड, असन, इन्द्रचोक हुँदै ठमेलसम्म विद्युतीय सवारी सञ्चालन गर्ने योजना २०६९ साउनमै अघि सारेको थियो । पाँच महिना लगाएर सम्भाव्यता अध्ययनसमेत गरेको महानगरपालिकाले अहिले आएर यी क्षेत्रमा विद्युतीय सवारी चलाउन सम्भव नभएको बताएको छ ।

ठमेल पर्यटन विकस परिषद्ले ठमेलमा विद्युतीय गाडी सञ्चालनका लागि सम्भावित प्रतिवेदन बनाएर दुई वर्षअघि पर्यटन मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड र ट्राफिक प्रहरीलाई बुझाए पनि कार्यान्वयन हुन सकेको छैन । 

हप्तामा एक दिन ठमेललाई ‘फ्री सवारी जोन’ बनाउने, पैसा तिर्न नपर्ने गरी विदेशी पर्यटकका लागि ठमेलदेखि दरबारमार्ग र लाजिम्पाटसम्म विद्युतीय सवारीसाधन चलाउने योजनासहितको प्रतिवेदन परिषद्ले बुझाएको थियो ।

विद्युतीय सवारी सञ्चालनलाई थाती राखेर विमानस्थलदेखि ठमेलसम्म पर्यटकलाई सजिलै पुर्‍याउन वैकल्पिक रुट खोजी भइरहेको छ ।

ठमेलमा डेढ सयभन्दा बढी व्यावसायिक पसल सञ्चालन छन् । पर्यटकको आउजाउ बाक्लो छ । पसलअघि बाटो नै छेकिने गरी सामान झुन्ड्याएर राखिएका छन् । ठमेलभित्र सञ्चालित व्यवसाय र अन्य संघसंस्थालाई व्यवस्थित नगरेसम्म विद्युतीय सवारी सञ्चालन योजनाले पूर्णता नपाउने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् । 

‘जति बेला योजना बन्यो, ठमेल, वसन्तपुर, असन र इन्द्रचोकमा त्यति भीड थिएन। तर अहिले पर्यटक आगमनसँगै व्यापार व्यवसायको वृद्धिले यो योजना पछाडि धकेलिएको हो’, उनले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्