घाट व्यवस्थित नहुँदा शव जलाउन समस्या



विराटनगर : मोरङको उर्लाबारीस्थित बक्राहा खोलाको घाट व्यवस्थित गर्न सरोकारवालाले चासो नदिएकै कारण शव जलाउन समस्या हुन थालेको छ । उर्लाबारी नगरपालिका ४ स्थित बक्राहा खोलाको दुवैतर्फ शव जलाउने गरिएको छ । 

स्थानीयले निर्माण गरेको घाट गत वर्ष बक्राहा खोलामा आएको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि घाट व्यवस्थित गर्न कसैको ध्यान पुगेको छैन । 

व्यवस्थित घाट नहुँदा दैनिक औसत २/३ वटा शव जलाउन प्रयोग गरिएको दाउरा, खरानी, अँगार र अन्य फोहोर यत्रतत्र देखिन्छ । जसले खोलाको किनार प्रदूषित भई वातावरण र जनस्वास्थ्यमा असर परेको स्थानीयको गुनासो छ । 

यद्यपि, उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागो बक्राहा घाटलाई व्यवस्थित बनाउन नगरपालिका गम्भीर रहेको बताउँछन् । उनले व्यवस्थित घाट निर्माणका लागि बजेट विनियोजन गरी सहज रूपमा शव जलाउने प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्