धर्मान्तरणको प्रतिकार गर्ने हिन्दू सम्मेलनको निर्णय



धनुषा: विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन सकिएको छ ।

 

हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय सम्मेलनवाट गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताए ।  

 

सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरिएको साहले बताए । सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरीलगायत प्रदेश नं २ का आठवटै जिल्लाबाट पाँच हजारभन्दा बढी साधुसन्तको सहभागिता थियो ।

 

विश्व हिन्दू परिषद्का महासचिव जीतेन्द्र सिंहले समाजमा विसङ्गति मौलाएकाले सबै साधुसन्त, महन्त एक हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले हिन्दू धर्मको रक्षाका लागि आफू सचेत र गम्भीर रहेको भन्दै जनकपुरधामलाई मासु र मदिरामुक्त घोषणा गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्