वाइड बडी खरिद अनियमितता छानबिन लेखा समितिले गर्ने



काठमाडौं : नेपाल वायुसेवा निगमले भित्र्याएकाे दुई वटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ। समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो।

 

सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात यसअघिको बैठकमा समिति सदस्यलाई बाँडिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । शाहका अनुसार सोही कागजात अध्ययन गरेपछि वायुसेवा निगमको वाइड बडी जहाज खरिदमा अनियमितता भएको शंका गरिएकाले थप छानबिन गर्नुपर्ने आवश्यकता सांसदले बिहीबारको बैठकमा उठाएका छन्।

 

यो विषय महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख छ । महालेखाले उठाएको विषयमा थप बुझ्नुपर्ने आवश्यकता देखिएकाले शुक्रबार बस्ने समितिको बैठकमा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। महालेखाले निगमको उक्त वाइड बडी जहाज खरिदमा औंल्याएको बेरूजुलाई स्पष्ट पार्नेछ।

 

यो जहाज खरिद गर्दा भएको कमजोरीमा थप छानबिन गर्न र निष्कर्षमा पुर्‍याउनकै लागि लेखा समितिले थप कागजात पनि पर्यटन मन्त्रालयमार्फत वायुसेवा निगमबाट मागेको शाहले जानकारी दिए।

 

‘महालेखाले प्रतिवेदनमा उल्लेख गरेकाले सोही विषयमा केन्द्रित भएर लेखा समितिले अध्ययन गर्ने भएको छ’, शाहले भने। पहिले आवश्यक प्रक्रिया र के भएको रहेछ भन्ने विषयमा छलफल गर्ने र आवश्यकताअनुसार वायुसेवा निगम पदाधिकारीलाई पनि छलफलमा बोलाइने शाहले बताए । याे खबर अाजकाे अन्नपूर्ण पाेस्टबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्