मन्दिरको सम्पत्ति देखिन्छ, देखिँदैन श्रीरामको दुर्दशा 



जनकपुरधाम : रामजानकी विवाह महोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैं सिंगार्ने काम भइरहँदा त्यहाँबाट दुई मिनेटको पैदल दूरीमा रहेको राम मन्दिर सुनसान छ ।

 

विवाहोत्सवलाई भव्य र आकर्षक बनाउन जानकी मन्दिरका अतिरिक्त जनकपुधामका विभिन्न चोक र धनुषयज्ञ हुने बाह्रबिघा मैदानमा सरसफाइ र रंगरोगनलगायतका काम भइरहेका छन् । यी ठाउँका जीर्णशीर्ण संरचनाको पुनर्निर्माणसमेत भइरहेको छ ।

 

तर, अलिक पर रहेको राम मन्दिरको भौतिक सरचनामा सुधार ल्याउन र कम्तीमा विवाहोत्सकै लागि भए पनि सरसजावट गर्न कुनै पनि निकाय वा व्यक्ति अघि सरेका छैनन् । ‘विवाहोत्सवमा रामपक्षको प्रतिनिधित्व गर्ने राम मन्दिरप्रति प्रदेश सकार, स्थानीय तह र स्थानीय प्रशासन सबै उदासीन देखिएका छन् ।

 

नियमित श्रद्धालुभक्तजनहरू पनि मन्दिर सिंगार्नु पर्छ भन्ने मनस्थितिमा देखिँदैनन्,’ एक स्थानीयले भने, ‘रामबिना सीतामाता कसरी पूरा हुन सक्नुहुन्छ । तर, यहाँ रामको मोल देखिएन ।’ जनकपुरधामको राम मन्दिरको इतिहास जानकी मन्दिरभन्दा पुरानो र समृद्ध छ । पौराणिक ग्रन्थका अनुसार त्रेताकालमा वृक्षमुनिबाट भगवान राम प्रकट भएका थिए । 

महन्थ गिरीले राम मन्दिरको दुरवस्थाको मुख्य जिम्मेवार गुठी संस्थान रहेको आरोप लगाए । मन्दिर पुनर्निर्माण र सञ्चालनका लागि गुठीले न्यूनतम दायित्वसमेत नउठाएकाले राम मन्दिरप्रति श्रद्धालुभक्तजनहरूको आकर्षण बढाउन नसकिएको गिरीको भनाइ छ । ‘अझ जनकपुर आउने विशिष्ट व्यक्तित्वलाई राम मन्दिरमा आउन नै दिइँदैन । अनि कसरी हुन्छ यसको विकास ?,’ गिरीले प्रश्न गरे ।

 

दैनिक पूजाआजालाई निरन्तरता दिन समेत अप्ठ्यारो मान्ने गुठीले मन्दिरको धार्मिक परम्परा प्रवद्र्धन गर्न सरोकार नराखेको र यसमा प्रमुख जिल्ला अधिकारीले पनि समन्वयात्मक भूमिका निर्वाह गर्न सकेको गिरीको भनाइ छ । राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरीका अनुसार गुठी संस्थानका कारण राम मन्दिरको दुर्दशा भएको हो ।

 

जनकपुर आउने विशिष्ट अतिथिहरूलाई राम मन्दिर भ्रमण तथा अवलोकन गराउने कुरामा स्थानीय प्रशासनले चासो नलिएको चौधरीको भनाइ छ । ‘यसमा मन्दिर सञ्चालन गर्ने दायित्व पाएको गुठी कार्यालय पनि लापरबाह देखियो,’ उनले भने । अब गुरुयोजना बनाएर नै राम मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकसित गर्नुपर्ने जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले बताए ।

 

राजनीतिकर्मीहरूले भारत र अन्य देशबाट आउने अतिविशिष्ट पाहुनालाई राम मन्दिरमा जानबाट रोक्ने गरेको आरोप साहको छ । स्थानीय सरकार र प्रदेश सरकारले जानकी मन्दिरसँगै राम मन्दिरका विषयमा पनि ध्यान दिनुपर्ने साहको कथन छ । 

पूरै जनकपुर राम मन्दिरको जमिनमा बसेको प्रसंग कोट्याउँदै साह भन्छन्, ‘तर, एक वर्षयताको तथ्यांकमात्र केलाइयो भने जनकपुरधाममा आउने विशिष्ट पाहुनामध्ये प्रायःजसो राम मन्दिर आएका छैनन् । राम मन्दिर विसं १९१४ मा स्थापना भएको महन्थ गिरीले जानकारी दिए ।

राम मन्दिरका पहिलो महन्थ चतुर्भुजनाथ गिरी थिए र अहिले उनैका वंशज महन्थ छन् । जनकपुर– ४ निवासी प्रशान्त रिजाल भन्छन, ‘मन्दिरको सम्पत्तिमाथि सबै गिद्धेनजर रहन्छ तर मन्दिर खबर लिने कोही छैनन् ।’ मन्दिरको जीर्णोद्धार गर्न अहिले पुरातत्व विभागले दुई वर्षदेखि मन्दिरको पछाडिपट्टि र मन्दिर प्रांगणमा रहेको हनुमान मन्दिरमा काम गरिरहेको छ ।

 

महन्थ गिरीका अनुसार पुरातत्व विभागले राम मन्दिर र हनुमान मन्दिरको जीर्णोद्धार गर्दै छ भने काष्ठमण्डपको काम गुठी संस्थान, जनकपुरले गरिरहेको छ । ९ गोलको जगमोहनको स्थानमा अहिले ८० लाखको लागतमा काष्ठमण्डप तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्