सरकारी स्वामित्वका कम्पनी जसले पुनर्जीवन पाए



काठमाडौं:  उदयपुर सिमेन्ट, पूर्ण क्षमतामा चल्दै

स्थापनाको दुई दशकसम्म उदयपुर सिमेन्ट कारखानाले कहिल्यै नाफा आर्जन गर्न सकेन । तर, अहिले पुनर्जीवन पाएको छ । आर्थिक वर्ष ०७०/७१ मा ४६ करोड ८२ लाख नोक्सानमा रहेको उद्योग ०७४/७५ मा आइपुग्दा २९ करोड ३० लाख खुद नाफा गर्न सफल भएको महाप्रबन्धक सुरेन्द्रप्रसाद पौडेलले बताए ।

 

त्रियुगा नगरपालिकाको जलजलेमा रहेको कारखाना ३१ जेठ ०४४ मा स्थापना भएको हो । ६ अर्ब ४ करोड लागतमा स्थापना भएको उद्योग ०४९/५० देखि सञ्चालनमा आएको हो । उद्योग हालसम्म पनि पूर्ण क्षमतामा भने सञ्चालनमा आउन सकेको छैन ।

 

औषधि लिमिटेड : जीवनजल र सिटामोल उत्पादन

आठ वर्षदेखि बन्द सरकारी स्वामित्वको औषधि उद्योगले ०७४ वैशाखदेखि पुनः उत्पादन थालेको छ । उद्योगले अहिले जीवनजल र सिटामोल उत्पादन गरिरहेको छ । ०२९ मा स्थापना भएको लिमिटेडले १ सय २० थरि औषधि उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका थियो । तर, ०६६ देखि सो औषधि उद्योग पूर्ण रूपमा बन्द भयो ।

 

विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (जिएमपी) पूरा गर्न नसकेपछि उद्योग बन्द भएको थियो । तर, तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग पुनः सञ्चालन गरे । अहिले जीवनजल र सिटामोल उत्पादन गरिरहेको र अन्य औषधि पनि उत्पादनको तयारी गरिरहेको महाप्रबन्धक डा. रोभस कुसुम सुवेदीले बताए ।

 

त्यस्तै, जिएमपी प्रमाणपत्र लिनसमेत निवेदन दिइसकेको उनले बताए । अहिले उद्योगले क्यालेन्डर नै बनाएर औषधि उत्पादनको लक्ष्य राखेको छ । सरकारले निःशुल्क दिने ७० प्रकारका तथा सरकारबाट सूचीकृत अत्यावश्यक औषधि उत्पादन गरी नेपाल सरकारलाई उपलब्ध गराउने लक्ष्य रहेको महाप्रबन्धक सुवेदीले बताए ।

 

सरकारी लगानीका बैंक, जसले पुनर्जीवन पाए

३० कात्तिक १९९४ मा नेपाल बैंकको स्थापना भयो । सरकारको ४० प्रतिशत र अन्य संस्थाहरूको ६० प्रतिशत लगानीमा बैंक स्थापना भएको थियो । सुरुदेखि नै घाटामा रहेको बैंक ०५९ मा आइपुग्दा निष्क्रिय कर्जा नै ६० प्रतिशत पुग्यो ।

 

बैंकमा खराब कर्जा अत्यधिक भएपछि ६ साउन ०५९ मा बैंकको व्यवस्थापन विदेशीलाई दिइयो । तैपनि वित्तीय अवस्था सुधारिएन । ५ साउन ०६४ मा नेपाल राष्ट्र बैंकले नै नेपाल बैंकको व्यवस्थापनको जिम्मेवारी लियो । २८ मंसिर ०७१ मा पुन: केन्द्रीय बैंकले नेपाल बैंकलाई नै व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण ग-यो ।

 

०७१ पुसमा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह नियुक्त भए । त्यतिवेला बैंकको सञ्चित नोक्सानी ६ अर्ब, ऋणात्मक रिजर्भ ३ अर्ब, निष्क्रिय कर्जा ५ प्रतिशत, पुँजीको अनुपात ४.५८ प्रतिशत, पुँजी पर्याप्तताको अनुपात १० प्रतिशत थियो ।

 

हाल बैंकको निष्क्रिय कर्जा २.७८ प्रतिशत, रिजर्भ १० अर्ब, सञ्चित तथा वितरणयोग्य नाफा २ अर्ब छ । गत आवमा मात्रै ३ अर्ब ३९ करोड रुपैयाँ मुनाफा कमायो । चालू आवको पहिलो तीन महिनामा ९१ करोड मुनाफा आर्जन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

 

राष्ट्रिय वाणिज्य बैंक : तीन वर्षदेखि नाफामा

१० माघ ०२२ मा १ करोड १७ लाख चुक्ता पुँजीको राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको हो । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित यो एक मात्र राष्ट्रिय बैंक स्थापना कालदेखि नै घाटामा थियो । ०५९ मा आइपुग्दा बैंकको निष्क्रिय कर्जा ६५ प्रतिशतसम्म पुग्यो । केही शाखामा निष्क्रिय कर्जाको अवस्था ८५ प्रतिशतसम्म थियो । बैंक २३ अर्ब रुपैयाँ घाटामा थियो ।

 

बैकिङ क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ०५९ देखि ०६२ सम्म राष्ट्रिय वणिज्य बैंकको व्यवस्थापन विदेशी समूहले लियो । स्विट्जरल्यान्डका ब्रुस अफ हेन्डरसनको प्रमुख कार्यकारी अधिकृत रहने गरी १३ जना व्यवस्थापन समूह बैंक प्रवेश ग¥यो, जसमा ६ जना विदेशी थिए भने ७ जना नेपाली थिए । त्यसपछि बैंकका नीति–निर्देशिका परिवर्तन गरियो । कार्य सम्पादनमा कम्प्युटर अनिवार्य गरियो । कर्जा लगानी कम गरियो ।

 

०६१ मा बैंक पहिलोपटक मुनाफा आर्जन गर्न सफल भयो । तर, ०७१/७२ मा आएर मात्रै बैंक घाटा पूर्ति गर्न सफल भयो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख छ । चालू आवको पहिलो त्रैमासिकमा १ अर्ब १२ करोड मुनाफा आर्जन गरेको छ । बैंकको निष्क्रिय कर्जा ३.८३ प्रतिशत छ । निक्षेपका आधारमा बैंकको बजार हिस्सा ११ प्रतिशत छ भने कर्जाको आधारमा ८ प्रतिशत छ ।

 

कृषि विकास बैंक : १० वर्षदेखि निरन्तर मुनाफामा

कृषि तथा ग्रामीण क्षेत्रमा कर्जा विस्तार गर्न ५ करोड चुक्ता पुँजी राखेर सरकारले ७ माघ ०२४ मा स्थापना गरेको हो । ०४१/४२ बाट बैंकले बैकिङ कारोबार पनि सुरु गर्‍यो । ३१ असार ०६२ मा वाणिज्य बैंकमा रूपान्तरण भयो । ०६८ देखि आधुनिक बैंकिङको सुरुवात गर्‍यो ।

 

अहिले बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत लगानी छ । तत्कालीन समयमा कर्जाको ब्याज ६–६ महिनामा भुक्तानी गर्ने नियम थियो । जसकारण बैंकमा निष्क्रिय कर्जा बढ्दै गयो । बैंकको निष्क्रिय कर्जा १० प्रतिशतसम्म पुग्यो ।

 

०५४ मा बैंक सुधार कार्यक्रमअन्तर्गत मासिक ब्याज भुक्तानी गर्ने व्यवस्था गरियो । आव ०५९/६० मा सरकारले अन्तर्राष्ट्रिय वित्तीय सहयोगी संस्था एडिबीले बैंकको अध्ययन गर्‍यो । सुधारका लागि आवश्यक गाइडलाइन बनायो । त्यसपछि बैंकको कर्जा असुलीमा सुधार हुँदै गयो ।

 

१० वर्षदेखि बैंक निरन्तर मुनाफामा छ । हाल कम्पनीको अधिकृत पुँजी १८ अर्ब छ भने चुक्ता पुँजी १३ अर्ब ९३ करोड छ । मुनाफा ५ अर्ब ९७ करोड छ । निक्षेप १ खर्ब ५ अर्ब छ । कर्जा १ खर्ब १ अर्ब छ । बैंकको निष्क्रिय कर्जा ३.१९ प्रतिशत छ । बैंकमा निक्षेपकर्ता ११ लाख छन् । त्यस्तै १ लाख ६४ जनाले कर्जा सुविधा लिएका छन् । २ हजार ७ सय ३१ कर्मचारी छन् । बैंकको ६२ वटा एटिएम सञ्चालित छन् । नयाँ पत्रिकावाट

प्रतिक्रिया दिनुहोस्