वीरगन्जमा हर्न तथा प्लास्टिक प्रयोग निषेध



वीरगन्ज : वीरगन्ज महानगरपालिकाले वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित घोषणा गरेको छ । महानगरपालिका कार्यपालिकाको शुक्रबार भएको बैठकले घोषणा आगामी पुस १७ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । यस्तै महानगर क्षेत्रमा प्लास्टिकसमेत निषेध गर्ने निर्णय बैठकबाट भएको छ ।

 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले वीरगन्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने र प्लास्टिक प्रयोगमा रोक लगाउने भनी पेस गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।

 

महानगरपालिकाको निर्णय सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघसंस्थाको समन्वयमा व्यापक जनचेतना कार्यक्रम सुरु गर्ने महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताए । वीरगन्जमा बढ्दो सवारी चापले महानगर अत्यधिक प्रदूषित बन्न थालेपछि हर्न निषेध क्षेत्र घोषणा गरिएको नगरप्रमुख सरावगीले जानकारी दिए ।

 

प्लास्टिकजन्य पदार्थबाट वीरगन्ज महानगर क्षेत्रमा भएको प्रदूषणलाई ध्यान दिई पुस १७ गतेबाट नै लागू हुनेगरी प्लास्टिकको ग्लास, कप तथा प्लेट प्रयोग निषेध गर्ने निर्णय गरिएको सरावगीले बताए ।

 

यस्तै महानगर क्षेत्रभित्र कृषिजन्य जग्गामा कृषि मिटर जडान गर्ने तथा कृषि ऋणका लागी सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । महानगरको पहिलो चौमासिक अवधिको राजस्व असुली तथा खर्चको समीक्षा गर्न एक साताभित्र प्रतिवेदन बुझाउनेगरी वडाध्यक्ष ब्रह्मदेव कुर्मीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्