भारतमा राममन्दिर चर्चा : भाजपाकाे चुनावी रणनीति



काठमाडाैं : नेपालकाे जनकपुरमा विवाह पञ्चमीकाे राैनक बढ्दै गर्दा छिमेकी मुलुक भारतमा पनि भगवान् रामसँग सम्बन्धित सन्दर्भले वातावरण तताउँदैछ । राम सीताकाे  विवाह महाेत्सव नजिकिँदै गर्दा भारतीय हिन्दुहरुले राम जन्मभूमि अयाेध्यामा विशाल मन्दिर बनाउन माग राखी अान्दाेलन अघि बढाएका छन् ।

 

अाइतबार मात्रै दसाैंहजार रामभक्तले भारतकाे राजधानी नयाँदिल्लीमा प्रदर्शन गरे । प्रदर्शनमा सहभागी हुन भारतका विभिन्न स्थानबाट हिन्दुहरू नयाँदिल्ली पुगेका थिए ।

कडा सुरक्षाबीच भएको प्रदर्शनमा सहभागी हिन्दुले केशरी रंगकाे पाेसाक लगाएका थिए । उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माणका लागि अनुमति नदिँदासम्म उनलाई नै आवतजावतमा समेत अवरोध गर्ने तयारी गरेका थिए ।

 

हिन्दुवादी भारतीय जनता पार्टीबाट प्रधानमन्त्री बनेका माेदीका लागि अयाेध्यामा राममन्दिर निर्माण गर्नुपर्ने माग चुनाैतीका रुपमा देखा परेकाे छ। प्रदर्शनमा सहभागीहरुकाे भनाइले पनि यसलाई पुष्टि गरेकाे छ ।

 

हिन्दुवादी नेता भएर पनि माेदीले रामको जन्मभूमि मानिएको अयोध्या सहरकोे भूमिमा मन्दिर बनाउन ध्यान नदिएको भनी प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गरेकाे  एएफपीले जनाएकाे छ ।

 

भारतमा यति बेला अागामी वर्ष हुने लाेकसभा चुनावकाे तयारीले गति पाएकाे छ । यति बेला राममन्दिरकाे सन्दर्भ उठाइनुलाई भारतीय जनता पार्टीकै चुनावी रणनीतिका रुपमा पनि विश्लेषण  गरिएकाे छ। अबकाे चुनावका लागि नरेन्द्र माेदीमात्रै पर्याप्त नहुने ठानी राममन्दिरकाे चर्चा चलाइएकाे टिप्पणी भारतीय मिडियामा हुन थालेकाे छ । 

हिन्दुहरूले अयोध्यास्थित विवादास्पद बनेको भूमि भगवान् रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्त स्थानमा भगवान् रामको मन्दिर भत्काएर ४ सय ६० वर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दाबी कतिपय भारतीय हिन्दु धर्मावलम्बीकाे छ।

भारतको अयोध्या सहरमा सन् १९९२ मा बाबरी मस्जिद भत्काएर हिन्दु मन्दिर बनाउन लागिएकाे थियाे । त्यति बेला विवादका कारणा हिंसा भड्केपछि मन्दिर निर्माण अलपत्र परेकाे छ । यति बेला मन्दिर निर्माणलाई निरन्तरता दिन माग राखी हिन्दुवादीले प्रदर्शन जारी राखेका हुन् ।

 

कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।आयोजकले यस अघि अयोध्या र भारतीय अन्य दुई सहरमा केही हप्ता पहिले प्रदर्शन गरेका थिए । 

बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दु र अल्पसङ्ख्यक मुसलमानबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्