कांग्रेस प्रदेशस्तरीय भेला: स्थानीय तहका कमिटीबाटै टिकट वितरण गरिनुपर्ने माग



धनगढी: प्रदेश ७ का करिब चार सयभन्दा बढी अगुवा कांग्रेसजनले अधिकार सम्पन्न तह निर्माण गरी पार्टीलाई क्रियाशील बनाउन आग्रह गरेका छन् ।

केन्द्रीय विधान मस्यौदा समितिले आयोजना गरेको दुईदिने अन्तक्र्रिया कार्यक्रमका अगुवा कार्यकर्ताले सम्बन्धित तहका कमिटीबाटै जनप्रतिनिधिको टिकट वितरण गरिनुपर्ने बताएका छन् । उनीहरूले पार्टीको नयाँ विधानले अधिकारलाई स्थानीय तहसम्मका कमिटीमा विकेन्द्रीकरण गर्न जोड दिए ।

‘केन्द्र, प्रदेश, जिल्ला, क्षेत्रीय र नगर वडा तहसम्म सबै आ–आफ्नो स्तरमा शक्तिशाली होऊन्’ कैलालीबाट कार्यक्रममा सहभागी केशव मिश्रले भने, ‘त्यसपछि मात्रै पार्टीको हरेक पक्ति क्रियाशील भएर अघि बढ्न सक्छ ।’ उनले पार्टीको विभिन्न तहको कमिटीले आ–आफ्नो स्तरका जनप्रतिनिधिको टिकट वितरण गर्ने अधिकार पाउनुपर्ने बताए ।

‘अब सिफारिस होइन, टिकट दिने अधिकार वडासम्मलाई हुनुपर्छ भन्ने कुरा आयो,’ मिश्रले भने, ‘पार्टीको आचारसंहिताविपरीत जानेलाई कारबाही सम्बन्धित तहकै अनुशासन कमिटीबाट गरिनुपर्छ ।’ उनका अनुसार यसअघि अनुशासन समितिले केन्द्रमा कारबाहीको सिफारिस गर्न सक्ने अधिकार थियो । उनले मुख्य गरी पार्टीको विभिन्न तहका कमिटी र अनुशासन समिति दुवै शक्तिशाली बनाउन कार्यक्रमका सहभागीले बढी सुझाव दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्