अर्काको अनुहारमा आफ्नो अनुहार राख्न मिल्ने डीपफेक याप सार्वजनिक, प्राइभेसीको चिन्ता (भिडियो सहित)



एजेन्सी : चीनले बनाएको जाओ नामक यापले फिल्मी तथा टेलिभिजन कलाकारको अनुहारमा आफ्नो अनुहार फिट गर्ने अवसर दिन्छ । मात्र तपाईंले आफ्ना तस्वीरहरू अप्लोड गरे पुग्छ । 

तर यस यापले प्राइभेसी भंग गर्ने भनी यसको आलोचना भइरहेको छ । याप निकै लोकप्रिय भए पनि प्रयोगकर्ताहरूको निजी डेटालाई यापले निःशुल्क र स्थायी रूपमा उपयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरू रिसाएका छन् । 

कम्पनीले आलोचनापछि प्राइभेसीका शर्तहरू फिर्ता लिएको छ तर आफ्नो कन्टेन्टमा कम्पनीले आधिपत्य जमाएको भन्दै क्रोध व्यक्त गरेका छन् । 

जाओ याप अहिले चीनमा मात्र उपलब्ध छ । याप अन गरेपछि प्रयोगकर्ताहरूले मुख चलाएर वा अन्य मुहारजन्य अभिव्यक्ति दिएपछि तस्वीर खिच्छ र त्यो डेटालाई कृत्रिम बौद्धिकतामार्फत सेलेब्रिटीहरूको अनुहारमाथि राखिदिन्छ । 

याप प्रयोग गरेर प्रयोगकर्ताहरूले गेम अफ थ्रोन्स, द बिग ब्याङ थ्योरी लगायतका लोकप्रिय टीभी शोका दृश्यमा आफूलाई घुसाउने अनि लियोनार्डो डीकाप्रियो, ह्यु ज्याकम्यान जस्ता सेलेब्रिटीको अनुहारमा आफ्नो अनुहार थोपर्दै त्यसलाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्