करोडौंको अनियमिततामा मुछिए सशस्त्र आईजीपी खनाल



काठमाडौं : सशस्त्र प्रहरीको नेतृत्व विभिन्न भ्रष्टाचारको काण्डमा संलग्न हुने कुनै नौलो विषय होइन् । यसअघिका सशस्त्र आईजीपीहरु कुनै न कुनै भ्रष्टाचार काण्डमा मुछिएको पाइन्छ । पछिल्लो पटक आदालतबाट सफाई पाए पनि उनीहरुले जनताको नजरबाट सफाई भने पाउन सकिरहेका छैनन् । यसले के देखाउछ भने सशस्त्र प्रहरीमा विभिन्न भ्रष्टाचारको काण्डहरु मच्चाउनु आईजीपीको परम्परागत काम हो ।

वर्तमान आईजीपी शैलेन्द्र खनाल पनि यसबाट अछुत रहन सकेका छैनन् । सशस्त्रभित्र विभिन्न अनियमितताका काण्डहरुमा आईजीपी खनालको नाम मुछिदै आए पनि त्यसको अनुसन्धान भने सम्बन्धित निकायबाट हुन सकेको छैन । सशस्त्र प्रहरी मुख्यालय हलचोक सूत्रका अनुसार आईजीपी खनालले गृहमन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म सेटिङ मिलाएका कारणले सशस्त्र प्रहरीभित्र हुने ठुल्ठूला भ्रष्टाचारका काण्डहरुमाथि छानविन भएको छैन ।

गृहमन्त्रालय स्रोतका अनुसार आईजीपी खनाल सबैसँग समन्वय राख्न र आफूभन्दा माथिल्लो निकायका पदाधिकारीहरुलाई प्रभावमा पार्न सिपालु भएका कारण उनी संलग्न भएका कतिपय अनियमितताका कामहरु छोपिन पुगेका छन् ।

पछिल्लो पटक सशस्त्र प्रहरीमा प्रहरीले लगाउने चुस्ता र बुट काण्ड भएको छ । जसअनुसार सशस्त्र प्रहरी बलले २०७६ भदौ ६ मा ३५ हजार सेट चुस्तासहित १० किसिमका सामानका लागि टेन्डर गरेको छ । त्यस्तै ३७ हजार जोर डीएमएस बुटको पनि टेन्डर भएको छ । टेन्डर गर्दा केही व्यापारीको स्वार्थमा आईजीपी खनालको निर्देशनमा डीएमएस बुटको स्पेसिफिकेसन परिवर्तन गरिएको छ । बुट बाहेक अरू सामानको स्पेक परिवर्तन गरिएको छैन । बुटको स्पेक संशोधन गरी नेपालमा होइन् भारतमा समेत नबन्ने खालको जुत्ताको स्पेक राखिएको छ । ३७ हजार जोर डीएमएस बुट करिब १० करोड रुपैयाँ बराबरको छ ।

व्यापारी दीपक मल्होत्राको डिजाइनमा स्पेक संशोधन गरिएको स्रोतको दाबी छ । मल्होत्राको सिंगापुर र चीनमा कारोबार भएका कारण अरुलाई नमिल्ने र उनलाई मात्र मिल्ने गरी स्पेक तयार पारिएको छ । त्यसपछि आईजीपी खनालले व्यापारी मल्होत्रालाई टेन्डर पर्नेगरी तारतम्य मिलाएका छन् । सामसुङ मोबाइल सेटका आधिकारिक बिक्रेता रहेका मल्होत्राले हरेक नयाँ मोडल आउँदा खनाललाई बोलाउने र उनी जाने गरेका छन् । खनालसँग मल्होत्राको राम्रै उठाबसी छ ।

झापाका इन्द्र श्रेष्ठ र इन्द्र ओडारी नामका व्यापारी पनि सिन्धुपाल्चोकका बच्चु पौडेललाई साझेदार राखेर सुरक्षा फौजको बन्दोबस्तीका सामानको कारोबारमा अगाडि बढेका छन् । डलर, रक्तचन्दनदेखि सुन तस्करीबाट अर्बाैं सम्पत्ति आर्जन गरेका पौडेलको पनि चिनियाँ व्यापारीसँग राम्रो कनेक्सन छ । झापा घर भएका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा विभिन्न ठेक्कापट्टा लिँदै आएका छन् ।

सशस्त्र प्रहरीले भदौ ६ मा पार्का ज्याकेट २० हजार थान, स्लिपिङ ब्याग १५ हजार थान, जर्सी ५ हजार थान, उलन पाइन्ट २ हजार मिटर, म्याटे«स ६ हजार थान, ट्याक्टिकल वेब ब्याग १० हजार वटा, पन्चु ३० हजार सेटको टेन्डर गरेको छ । यसमा पनि चलखेल सुरु भएको छ ।

नेपालका गुणस्तर विभागको परीक्षणमा प्रश्न उठेपछि नेपाल प्रहरीले भारतका एसजीएस र आईटीएसमा टेस्ट गराउने गरेको छ । तर, विगतमा गुणस्तर परीक्षणका लागि भारतको एसजीएस र आईटीएसमा पठाउने गरिएकोमा यो पटक भने नेपालकै गुणस्तर विभागमा टेस्ट गर्ने निर्णय सशस्त्र आईजीपी खनालले गराएका छन् । यसले पनि के देखाउछ भने सशस्त्र आईजीपी खनालले भ्रष्टाचार गर्न लागेका हुन् ।

गुणस्तर विभागका प्राविधिक अधिकृत किरण सुवेदी र महानिर्देशक विश्वबाबु पुडासैनीका पीए कालिका बरालसँग सेटिङ मिलाएर टेस्टका लागि राम्रो छानेर नमुना लाने र सामान बुझाउँदा भने कमसल बुझाउने खेल ठेकेदारहरूको रहेको समाचार स्रोतको दाबी छ ।

सशस्त्रका आईजीपी खनालले बजेटमा डीएसपी पूर्ण साउद, प्रबन्धमा एसपी दीपेन्द्र साउददेखि सबैतिर आफ्ना विश्वास पात्र सेट गरेका छन् र, मनलागी ढंगले खरिद गर्दै आएका छन् । आर्थिक प्रशासन महाशाखा, प्रबन्ध महाशाखा छुट्टै छ । भण्डारलाई पनि महाशाखा बनाइएको छ । आर्थिक प्रशासन र भण्डारमा एसएसपी छन् । तर, प्रबन्ध महाशाखाको प्रमुखमा एसएसपी नराखी एसपी दीपेन्द्र शाहलाई नै राखिएको छ । शाह आईजीपी खनालनिकट भएकाले कमिसनका कुरा मिल्ने भएपछि महाशााखा बनाए पनि एसएसपी नराखी उनलाई नै प्रमुखमा राखिएको हल्चोकमा व्यापक चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्