‘ग्याङ फाइट’मा बदलिँदै साथीबीचको झगडा, कपनमा एकको मृत्यु



काठमाडौं : कपनमा साथी–साथीबीच एकापसमा हात हालाहाल हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको छ । बूढानिलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति साथीभाईबीच एकापसमा झगडा हुँदैजाँदा कुटाकुट भई खोटाङका सञ्जय राईको मृत्यु हुन पुगेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार झगडामा गम्भिर घाइते पाइएका राईको हेल्पिङ हेण्डस् अस्पतालमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याई उपचार गर्दैगर्दा उनको निधन भएको थियो ।

हत्यामा सङ्लग्न सङ्खुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले आज (बुधबार) बिहान कपनबाट पक्राउ गरेको छ । खोटाङका सञ्जय राईसहित तीनै जना कपन क्षेत्रमा साथसाथै घरमा टायल र मार्बल हाल्ने काम गर्ने गरेका थिए । एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको खुल्न आएको प्रनाउ चन्दले बताए ।

बढ्दो सहरीकरणसँगै साथीभाईबीच हुने माया र सम्बन्ध क्रमशः ग्याङ र ग्याङ फाइटले लिन थालेको छ । कुनै समयमा मिलेर बसेका एउटै गाउँठाउँका साथीहरु पनि विभिन्न ग्याङहरुमा संलग्न हुँदै जाँदा आपसी मनमुटाव बढ्दै जाने गरेको छ ।

हेर्दा व्यक्तिगत र आवेशपूर्ण देखिए पनि यस्ता घटनाहरुका पछाडी सहरीकरणले बदल्दै गरेको संस्कृति र मनोविज्ञानले ठूलो काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्