नेपाल प्रहरीमा सरुवा : आफ्नालाई काखा, अरुलाई पाखा




काठमाडौं : नेपाल प्रहरीभित्र बढुवा र सरुवाको विषयलाई लिएर व्यापक असन्तुष्टि पैदा भएको छ । नेपाल प्रहरी आईजीपी सर्वेन्द्र खनालले सरुवा र पदस्थापना भएकाहरुलाई आफूखुसी गरेका कारण उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

खासगरी आईजीपी खनालले ती स्थानमा आफ्ना मान्छेहरू पठाउन कतिपयलाई एकवर्षे अवधि नपुगिकनै फिर्ता ल्याएको र कतिपयलाई इन्चार्जबाट फेरि इन्चार्ज दिइएको भन्ने विषयले अहिले विवाद सृर्जना भएको हो ।

गृह मन्त्रालयको सचिवस्तरिय निर्णयबाट बढुवा भएका उनीहरूलाई पदस्थापना गरिएको भए पनि सो सरुवा र पदस्थापनमा पूर्वाग्रह भएको भन्दै संगठनभित्र व्यापक गुनासो छाएको छ ।
नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना एसपीको पदस्थापना र ४० जनाको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।

प्रहरी नियमावलीमा समान्यताा कुनै विवादमा नपरेका र राम्रो ढंगले काम गरिरहेकाहरूलाई कम्तीमा एक वर्ष काम गर्न दिने चलन छ । तर, एसपी बढुवा गर्दा वरिष्ठताक्रममा अगाडि तानिएका अधिकृतहरु नै यसपटक नौ महिना नपुग्दै तानिएका छन् ।

भदौदेखि खटिएकै स्थानबाट तलबभत्ता पाउनेगरी गरिएको सरुवामा यसअघि १ नम्बरमा एसपी बढुवा भएका अच्यूतमप्रसाद पुडासैनी कपिलवस्तुको इन्चार्जबाट प्रहरी प्रधान कार्यालय यूएन जगेडामा ल्याइएको छ ।

उनलाई गत जेठमा नै काजसरुवा गरिएको थियो । यसैगरी दाङ जिल्लाको इन्चार्ज हुँदा अवैध क्रसरको विवादमा जोडिएर सीडीओले कारबाहीका लागि लेखिपठाएको बेलप्रसाद पाण्डेलाई २ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय जनकपुर पठाइएको छ ।

त्यस्तै १२ नम्बरमा बढुवा भएका कृष्णबहादुर पल्ली मगर नुवाकोट इन्चार्जबाट प्रदेश सशस्त्र प्रहरी गण नम्बर ३ रातोमाटे हेटौंडा पठाइएको छ । उनी डीएसपी हुँदादेखि नै कमाइ हुने अड्डाहरूमा बस्दै आएका छन् । बालाजु वृत्तको इन्चार्जबाट त्रिभुवन विमानस्थलमा समेत फड्को मारेका पल्ली मगरले कुवेरसिंह राना आईजी हुँदा भान्जीज्वाइँको साइनो भजाएर समेत धेरै अवसर लिएको प्रहरी वृत्तमा चर्चा रहेको छ ।

यसैगरी ४ नम्बरमा बढुवा भएका एसपी सानुराम भट्टराईलाई पनि नौ महिनामै बारा जिल्लाको इन्चार्जबाट तानिएको छ । भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । तुलनात्मक रूपमा यो जिम्मेवारी आकर्षक मानिन्छ । यस्तै अरुण पौडेललाई बाँके इन्चार्जबाट ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडा तानिएको छ । पौडेललाई पनि जेठमै तानिएको हो । त्यसैगरी दाङमा जुवा विवादमा मुछिएपछि बाग्लुङ पठाइएका कृष्णहरि शर्मालाई पनि तीन÷चार महिनामै प्रहरी प्रधान कार्यालय मानवअधिकार उल्लंघन अनुगमन एकाइमा पदस्थापन गरिएको छ ।

यस्तै ३३ किलो सुनकाण्डमा मुछिएका विकासराज खनाललाई बारा इन्चार्ज बनाइएको छ, खनाल प्रहरी युक्ति महाविद्यालय नवलपरासीमा कार्यरत थिए । त्यसैगरी मनोजकुमार यादवलाई साप्तरी इन्चार्जबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर पठाइएको छ । उनी पनि दुई÷तीन महिना अवधि बाँकी छँदै तानिएका हुन् ।

यसैगरी एसपी भोला रावललाई गोरखा इन्चार्जबाट कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा बाँकेमा पठाइएको छ । रावल नुवाकोटमा बस्दा रक्सी काण्डका कारण विवादमा आएका थिए । हिजो एसपी बढुवा हुँदा अगाडी तानिएका तर अहिले पुरै कार्यकाल कार्यक्षेत्रमा टिक्न नसेकालाई आगामी दिनमा कार्य सम्पादन मूल्यांकन कसरी गरिन्छ भन्ने प्रश्न संगठनभित्रै पेचिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्