डेंगु संक्रमणले कृषि मन्त्री खनाल अस्पताल भर्ना



काठमाडौं : स्वास्थ्य मन्त्रालयले डेंगुको प्रकोप व्याप बनिरहेपनि नियन्त्रण गर्न असफल रहेको बताउँदै यसको नियन्त्रणको लागि सेना र प्रहरी परिचालन गर्ने बताइरहदा सरकारकै एक मन्त्रीलाई डेंगु संक्रमण भएको छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव डेंगु प्रकरण नियन्त्रण गर्न छोडेर मन्त्रालयका कर्मचारीहरु सहभागि हुनुपर्ने कार्यक्रममा दिल्लीतर्फ गएकै भोलिपल्ट उनकै क्याविनेटका कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल डेंगुको प्रकोपबाट बिरामी हुन पुगेका छन् ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल मन्त्रि निवास नजिकै रहेको पुल्चोकस्थित निदान हस्पिटलमा ‘चेकअप’ का लागि पुगेका थिए । डेंगु संक्रमणको आशंकामा निदान अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो । मन्त्री खनाल हाल उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका छन् ।

डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्