मुगाबेको चार दशक : स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म



हरारे : जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । करिब चार दशक देशमा शासन गरेका थिए ।

केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् ।

अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गरे । तर, बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो ।

नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उनको शारीरिक अवस्था अत्यन्त नाजुक हुन थालेको थियो ।

बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन उनको मुख्य भूमिका रहेको थियो । मुलुक स्वतन्त्र भएसँगै प्रधानमन्त्री बनेका रोबर्ट मुगाबेले प्रतिद्वन्द्वी राजनीतिक शक्तिलाई दमन गर्नुका साथै देशको अर्थतन्त्र रसातलमा पु-याए ।

झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताएका मुगाबे त्यसपछि छापामार बनेका थिए । तर, मुलुक स्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उनी प्रधानमन्त्रीमा नियुक्त भए ।

प्रधानमन्त्रीका रुपमा उनले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गरे । उनले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रमहरु अगाडि बढाए । तर, उनको चमक निकै तीव्र गतिमा फिका हुन थाल्यो ।

यता उनी प्रधानमन्त्री भएकै बेलामा असंलग्न आन्दोलनको आठौं शिखर सम्मेलनमा भाग लिन पुगेका नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले मुगाबेको प्रशंसा गरेका थिए ।

१ देखि ६ सेप्टेम्बर १९८६ मा जिम्बाबेको राजधानी हरारेमा भएको सो शिखर सम्मेलनमा राजा वीरेन्द्रले मुगाबेको नाम लिएर न्याय, स्वतन्त्रता र समानताका लागि उनले खेलेको भूमिकाले आफू प्रभावित भएको बताएका थिए ।

आयोजक राष्ट्रको प्रधानमन्त्री भएकाले मुगाबे त्यही बसिरहेका थिए र राजा वीरेन्द्रले भनेका कुरा सुनिरहेका थिए ।

राजा वीरेन्द्रको सो मन्तव्य परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले निकालेको असंलग्न आन्दोलनको भाषणको संकलन पुस्तकमा उल्लेख गरिएको छ ।

मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हालेका थिए । सन् १९७४ मा जेलमुक्त हुँदा उनले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याएका थिए ।

सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकन पिपुल्स युनियन (जापु) को नेतृत्व गरेका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाएका थिए । मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाए । मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गरेका थिए ।

मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालिमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहरुको हत्या गरेको थियो । तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमिन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकाका अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो ।

मगाबेले आफ्नो शासनकालमा ल्याएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो ।

यसैगरी, उनले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उनीमाथि लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्