पत्नीलाई विमानको सीटको लहरमा सुत्न दिएर आफू चाहिँ ६ घन्टा उभिए यी मानिस



एजेन्सी : विमानमा तीनवटा सीटको लहरमा महिला पल्टेकी र उनका पति चाहिँ उभिरहेको एउटा तस्वीर सार्वजनिक भएपछि अन्लाइनमा हंगामा मच्चिएको छ । बिहीवार कोर्टनी ली जोनसनले शेयर गरेको ट्वीटमा पहिचान नखुलेका एक व्यक्ति क्याबिनको प्यासेजमा उभिएको अनि उनकी पत्नी ६ घन्टासम्म सुतेको उल्लेख गरिएको छ । 

सामाजिक सञ्जालमा यससम्बन्धी तात्तातो बहस भएको छ । कसैले ती व्यक्ति पीडित बनेको र महिला चाहिँ स्वार्थी भएको टिप्पणी गरे । कसैले चाहिँ ट्वीटको वैधतामा नै प्रश्न उठाइरहेका छन् । लाइफ कोच कोर्टनी चाहिँ यस दृश्यका कारण रोमाञ्चित बनेका छन् । यति लामो समयसम्म उभिँदा पतिको साँचो प्रेम झल्किएको उनको भनाइ छ । ‘६ घन्टासम्म पत्नीलाई सुत्न दिन यी व्यक्ति उभिरहे । त्यो नै प्रेम हो,’ उनले लेखे ।

कोर्टनीले नाम नखुलाइएका व्यक्तिको पूर्ण प्रशंसा गरे तर ट्विटरमा यो व्यवहारलाई कसै कसैले चाहिँ मन पराएनन् । एक हजारभन्दा बढी मानिसले कोर्टनीको ट्वीटमा प्रतिक्रिया जनाए । केहीले यो घटनाको सत्यतामा प्रश्न उठाए । 

धेरै मानिसले यस्तो घटना हुनै नसक्ने बताए भने अन्यले यस्तो हुन दिएकोमा एयरलाइनको आलोचना गरे । धेरै मानिसले यो घटनाको तथ्य जाँच गर्नका लागि एयरलाइनको नाम, उडानको रूट र विमान नम्बरको जानकारी मागे । सयौं मानिसले ती महिला आफ्ना पतिको काखमा पल्टेको भए भइहाल्थ्यो नि भने ।

प्रतिक्रिया दिनुहोस्