स्थानीय सरकारका आफ्नै पत्रकार



झापाको मेचीनगर नगरकार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलब दिने निर्णयसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ। नगरपालिकाको बजेटबाटै मासिक तलब दिने गरी ती पत्रकारलाई संयोजक नियुक्ति गरिएको हो।

ती पत्रकार नगरपालिका कार्यालयमा पुगेर हाजिर गर्नुपछ। उनको मुख्य जिम्मेवारी नागरिकको विचारलाई जनप्रतिनिधि र कर्मर्चारीसँग पुर्‍याउनु रहेको नगर प्रमुख विमल आचार्यले जानकारी दिए। ‘पत्रकारलाई स्थानीयस्तरका विषयमा धेरै जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भन्ने उद्देश्यले जिम्मेवारी दिएका हौं’, उनले भने।

नगरपालिकामा सूचना अधिकारी हुँदाहुँदै प्रेस संयोजक आवश्यकता थियो र भन्ने प्रश्नमा आचार्यले करारमा कर्मचारी तोक्न पाउने प्रावधानलाई टेकेर आवश्यक जिम्मेवारी दिइएको उनको दाबी छ। भद्रपुर नगरपालिकाले पनि मासिक १२ हजार रुपैयाँ तलब दिने गरी प्रेस संयोजक तोकेको छ। नियमित कार्यालय आएर नगरका गतिविधि तथा निर्णयको समाचार स्थानीय सञ्चारमाध्यमा पठाउनु उनको जिम्मेवारी तोकिएको छ।

नगर प्रमुख सहभागी कार्यक्रमका विषयमा संयोजकले सञ्चारमाध्यम ‘रेडिमेड’ समाचार पठाइदिन्छन्। ‘कर्मचारीकै रूपमा प्रेस संयोजक तोकेका हांै’, नगर प्रमुख जीवनकुमार श्रेष्ठले भने, ‘नगरको गतिविधि सञ्चारमाध्यममा ल्याउनु नै उद्देश्य हो।’ झापाका १५ मध्ये ६ स्थानीय तहले तबल दिएर ‘आफ्नै पत्रकार’ नियुक्त गरेका छन्। मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र गौरादह नगरपालिकाले तलब दिएर त्यस्ता पत्रकार नियुक्त गरेका हुन्।

कन्काई र दमक नगरपालिकाले भने पत्रकार राखेका छैनन्। प्रेस संयाजक तोकेका तहले उनीहरूलाई १० देखि बढीमा १५ हजारसम्म तलब दिएका छन्। कन्काई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीसँग सहकार्य गरेर नगरले काम गरिरहेकाले प्रेस संयोजक नतोकिएको बताए।

प्रवक्ताबाटै काम चलाइन्छ

देशका कतिपय स्थानीय तहले प्रेस संयोजक राखेर व्ययभार बढाइरहेका बेला इलामका केही स्थानीय तहले भने प्रवक्तामार्फतै प्रेस संयोजकको काम गराइरहेका छन्। देउमाई नगरपालिका प्रमुख सूर्य पोखरेलले प्रेस संयोजक राख्ने कतै व्यवस्था नरहेकाले नगरपालिकाका जनप्रतिनिधिलाई प्रवक्ता तोकेर काम गरिरहेको बताए। ‘कार्यालयका आन्तरिक सूचनाहरू सूचना अधिकारीमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएका छौं’, उनले भने।

जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाले जनप्रतिनिधिलाई नै प्रवक्ता तोकेका छन् भने ऐनअनुसारै कर्मचारीलाई सूचना अधिकारी तोकेर गतिविधि र तथ्यांकहरू उपलब्ध गराएका छन्। इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार साहका अनुसार नगरपालिकाले पनि कार्यपालिका सदस्यलाई प्रवक्ता तोकेको छ। उनै प्रवक्ताले नगरका सूचना इमेलमार्फत सञ्चारकर्मीलाई उपलब्ध गराउने गर्छन्।

रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले पनि प्रेस संयोजक नराखेको बताउँदै भने, ‘सञ्चारकर्मीको पहँुच सीधै स्थानीय तहका प्रमुखसँग सहजै पुग्ने भएकाले पनि आवश्यक नपरेको हो।’ माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। फाककोक थुम गाउँपालिकाका अध्यक्ष राम        श्रेष्ठले पनि प्रेस संयोजकको आवश्यकता अहिलेसम्म महसुस नगरेको बताए। माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले पनि प्रेस संयोजक बनाउने सोच नभएको बताए। सूर्योदय नगरपालिकाले प्रेस हेर्न पत्रकारको संयोजकत्वमा समिति बनाए पनि तलब दिएको छैन।

ताप्लेजुङका कुनै पनि स्थानीय तहले सञ्चार सल्लाहकार नियुक्त गरेका छैनन्। फुङलिङ नगरपालिकाले पत्रकार महासंघसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्न बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षभित्र खर्च गर्ने गरी पत्रकारिता विकास कार्यक्रमका लागि दुई लाख ५० हजार र सूचना प्रविधि तालिम तथा सचेतनाका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ। ‘हामीले प्रेस सल्लाहकार वा विज्ञ भनेर राखेका छैनौं’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलले भने, ‘पत्रकार महासंघसँग सहकार्य गरेरै कार्यक्रम, विज्ञापन तथा सूचनाका लागि भने छुट्याइएको छ।’

नगरपालिकाले चालू आवदेखि एकजना पत्रकारलाई पुरस्कृत गर्ने गरी नगर पुरस्कारको व्यवस्था गरेको छ। आवश्यक नै नपरेकाले नराखेको फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङले बताए। ‘एक वर्षको अवधिमा सञ्चारविज्ञ आवश्यक परेन, हेर्दै जाऊँ, आवश्यक परे राखिएला’, उनले भने। आठराई त्रिवेणी गाउँपालिका प्रमुख विश्व सिटौलाले पत्रकारिताको विकासका लागि कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।

गाउँपालिकामा इन्टरनेट जडानका लागि सिरिजंगा गाउँपालिकाले १६ लाख विनियोजन गरेको छ। ‘इन्टरनेट नहुँदा कार्यसञ्चालनमै समस्या भइरहेको छ’, गाउँपालिका प्रमुख टीका गुरुङले भने, ‘इन्टरनेटलाई प्राथमिकता दिएका हौं।’ एक नगर र आठ गाउँपालिका ताप्लेजुङका सबैले प्रवक्ता र सूचना अधिकारी भने तोकेका छन्। केही तहका प्रमुख तथा उपप्रमुखले गाउँपालिकाबाटै पारि श्रमिक दिने गरी व्यक्तिगत सल्लाहकार पनि राखेका छन्।

भोजपुरका अधिकांश स्थानीय तहले प्रवक्ता नियुक्त गरी कार्यपालिकाको सूचना प्रवाह गरिरहेका छन्। नौवटा स्थानीय तहमध्ये ७ तहमा प्रवक्ता र २ तहमा सूचना अधिकारी राखिएको छ। दुई नगर र पाँच गाउँपालिकाले प्रवक्ता नियुक्त गर्दा दुर्गम साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकाले भने सूचना अधिकारी प्रयोग गरी सूचना प्रवाह गर्दै आएको छ। अधिकांश तहका प्रवक्ताको जिम्मेवारी तहका वडाध्यक्षलाई तोकिएको छ।

कर्मचारी अभाव झेले पनि साल्पासिलिछोले गाउँपालिकामा आईटी अफिसरलाई सूचना अधिकारी तोकेको छ। यसअघि तोकिएको सूचना अधिकारीको डेढ महिनामै सरुवा भएपछि गाउँपालिका करिब नौ महिना सूचना अधिकारीविहीन बनेको थियो। सदरमुकामको भोजपुर नगरपालिकाले कार्यपालिकाको सूचना सम्प्रेषणका लागि प्रवक्ता नियुक्त गरेको छ।

सुनसरी–मोरङमा कतै छन्, कतै छैनन्

सुनसरीको वराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाले प्रेस संयोजक राखेका छन्। धरान उपमहानगरपालिकाले योगेशबाबु काफ्लेलाई प्रेस संयोजक नियुक्त गरेको छ। मासिक २५ हजार रुपैयाँ पाउने गरी नियुक्ति दिइएको काफ्लेले जानकारी दिए।

उनलाई कार्यपालिका बैठकले निर्णय गरेर उक्त जिम्मेवारी दिएको हो। यस्तै वराहक्षेत्र नगरपालिकाले पनि कार्यपालिका बैठकमार्फत निर्णय गराई प्रेस संयोजक राखेको छ। संयोजकमा नवराज विष्टलाई राखिएको छ। उनलाई मासिक १० हजार रुपैयाँ दिइएको नगरप्रमुख नीलम खनालले जानकारी दिए। विराटनगर महानगरपालिका, लेटाङ र पथरीशनिश्चरे नगरपालिकाले प्रेस संयोजक नियुक्त गरेका छन् भने बाँकी स्थानीय तहले राखेका छैनन्।

प्रतिक्रिया दिनुहोस्