नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण रोमाञ्चकारी कुरा मात्र : प्रवक्ता विश्व प्रकाश शर्मा



नेपाली कांग्रेसमा अर्को महाधिवेशनको चहलपहल सुरु भइसक्दा पनि अहिलेसम्म केन्द्रीय विभागहरू नै गठन हुन सकेका छैनन् । यसले नेतृत्व असक्षम भएको भन्ने पुष्टि हुँदैन र ?

नेपाली कांग्रेस गएको निर्वाचनमा पराजित हुनुका थुप्रै कारणमध्ये हाम्रो पार्टीको आन्तरिक संरचनाहरूलाई पूर्णता नदिनु पनि एउटा कारण हो भनेर हामीले केन्द्रीय समितिको बैठकबाट पहिचान गरेका थियौं । चाहे भ्रातृ संस्थाको विषय होस्, चाहे गाउँनगरको संरचना होस्, चाहे विभागहरूका विषय हुन् । अब यी विषय हामी क्रमशः सम्बोधन गर्ने्तिर गइरहेका छौं । र, नेपाली कांग्रेस पार्टी अहिले नै महाधिवेशनतर्फ गइसकेको होइन । महाधिवेशनको निर्णय भइसकेको अवस्था होइन ।

महाधिवेशनको पूर्वाधार अथवा त्यसको पूर्वतयारीका केही काम भइरहेका छन् । पहिलो नियमावली बनाउने, दोस्रो पार्टीको अन्तरिम संरचना निर्माण गरिसक्ने र तेस्रो क्रियाशील सदस्यताको वितरण प्रारम्भ गर्ने । यी तीन चरण पूरा गरिसकेपछि हामी केन्द्रीय समितिको बैठक बसेर चौधौं महाधिवेशनको निर्णय गर्छौं ।

यतिन्जेल पूर्णता नदिइएको विभाग केही दिनका लागि किन बनाउने, अब बनाउनु आवश्यक छैन भनेर पनि कुरा उठेको रहेछ नि ?

कोही मान्छे उकालोमा हिँड्दै गर्दा सुरुमा लट्ठी टेकेन र अन्तिममा डाँडा उक्लिने बेलामा टेक्यो भनेर किन टेकेको भन्नुको खासै अर्थ छैन । भन्न त मजै हुन्छ, तर किन भनिएको भन्ने कुराको खासै औचित्य हुन्न । कोही हजार मिटरको दौड दौडिँदै छ, म्याराथुनमा सुरुमा बिस्तारै–बिस्तारै दौडियो र अन्तिममा जोडका साथ दौडियो भनेर विरोध गर्नुहुन्छ भने त्यो विरोधको के अर्थ हुन्छ ?

त्यसकारण, नेपाली कांग्रेसको महाधिवेशन आउन केही समय बाँकी छ । त्यो बेलामा त एकै महिना बाँकी थियो भने पनि अरु बाँकी काम गर्नलाई रोकिँदैन । आवश्यक कुरा ढिलो भए पनि गर्नुपर्छ ।

तर पार्टीभित्रैबाट यो नेतृत्व असफल भयो, सक्षमता देखिएन, यति सानो काम पनि यति ढिलो गर्ने भनेर प्रश्न उठाइएका छन् नि ?

उठाउने कुरालाई त अस्वभाविक रूपमा लिनुहुँदैन । कसैले कुनै पनि विषय उठाउँदै गर्दा सायद कसैले उत्साही ढंगले उठाउनुहुन्छ । कतिले प्रतिक्रियात्मक ढंगले उठाउनुहुन्छ । हामीले लोकतन्त्र ल्याएकै फरक मत उठाउन पाउने विषयका लागि हो नि त ।

त्यसकारण, नेपाली कांग्रेस पार्टीका सन्दर्भमा पनि कांग्रेसको हित हुनेगरी, लोकतन्त्रको हित हुनेगरी, कांग्रेस भित्रबाट वा कांग्रेसबाहिरबाट कसैले पनि गर्ने कुनै पनि आलोचनालाई हामीले हार्दिकतापूर्वक लिनुपर्छ ।

चुनावमा नराम्रो हार भयो, यति कामहरू पनि गर्न सक्नुभएन, आफैं नेतृत्वमा रहनुभएको छ, कार्यकाल सफल नै भएको ठान्नुहुन्छ अझै ?

अहिलेको कार्यकालको बेलामा दुई कुरा भएका छन् । एउटा– हामीले चुनाव हारेका छौं । निश्चय नै हामीले चुनावमा जति परिणाम प्राप्त गर्न सक्थ्यौं, त्यो ल्याउन सकेनौं । दोस्रो– यही कार्यकालका बीचमा मुलुकले एउटा मार्ग प्राप्त गरेको छ । मधेसमा गएर एउटा कार्यक्रम गर्दैगर्दा र कमरेड केपी ओलीले सम्बोधन गर्दैगर्दा कार्यक्रम पछाडि भएको द्वन्द्वका कारण चारजना मानिस मारिए ।

आज मधेसमा गएर त कसैले पनि चुनाव लड्न सक्ने, कुनै कार्यक्रममा जान सक्ने, बोल्न सक्ने, सहज वातावरण भएन । जसले गर्दा अहिलेको कांग्रेसको नेतृत्वले मधेसमा पनि चुनाव हारेको हो । तर, मधेसलाई विश्वासमा लिएर निर्वाचन गराएर स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराएर मुलुकलाई मार्गप्रशस्त गर्ने कार्य पनि यही कार्यकालमा भएको छ । तसर्थ यसबीचमा उपलब्धि पनि भएका छन्, यस बीचमा हामीले जोखिम पनि बेहोरेका छौं ।

महाधिवेशन पक्कै नियमित समयमा नहोला, कति समय लम्बिएला ?
यो जागरण अभियान सकिएर, आन्तरिक संरचनाको काम सकिएर, क्रियाशील सदस्यताको वितरण सुरु भएपछि हामी यस विषयमा प्रवेश गर्छौं ।

तपाईंमाथि कोइराला–पौडेल क्याम्प छाडेर सभापतिले प्रवक्ता दिएपछि क्याम्प परिवर्तन गरेको भन्ने आरोप छ नि ?

त्योचाहिँ साथीहरूको सूचनाको कमी हो । विश्वप्रकाश शर्मा शेरहादुर देउवालाई सभापनि बनाउने प्रक्रियामै सामेल थियो । म मात्र होइन, चर्चामा रहेका कैयौं नाम शेरबहादुर देउवालाई सभापति बनाउने बेलामा सामेल हुनुहुन्थ्यो ।

जस्तै ?

अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला दोस्रो चरणमा मत दिन सामेल हुनुहुन्थ्यो । अरू कतिपय नेता यसमा सामेल हुनुहुन्थ्यो । विश्वप्रकाश शर्मा त पहिलो चरणमा नै उहाँलाई सभापति बनाउन लागेको थियो । त्यसकारण, त्यो बुझाइको कमीका कारण जन्मिएको प्रश्न हो । म प्रवक्ता भएपछि मात्र शेरबहादुर देउवालाई सहयोग गरेको होइन, त्यस्तै नेपाली कांग्रेसको पार्टी प्रवक्ता सभापति शेरबहादुर देउवाको पक्षमा रहेको वा विपक्षमा रहेको कोणले भन्दा पनि प्रवक्ता बनाउँदै गर्दा विषयगत रूपले उसले प्राप्त जिम्मेवारी सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने कोणबाट हेर्नुपर्ने हुन्छ ।

धेरै युवाले आगामी पार्टी नेतृत्वका लागि आ–आफ्नो चर्चा परिचर्चा सुरु गरेका छन्, यसबारेमा तपाईंको के भनाइ छ ?

कसैको घरमा न्वारानमा जाँदै गर्दा ह्याप्पी बर्थ डे भन्यो भने अथवा कसैको घरमा नयाँ वर्षमा जाँदा विवाहको बधाई भन्यो भने असान्दर्भिक हुन्छ । त्यसैले अहिले हाम्रो पार्टी जागरण अभियानको क्रममा छ । अहिले जागरण अभियानको विषयवस्तु नै मुख्य कुरा हुन् । अहिले कांग्रेसमा को मान्छे सभापति बन्ने, को मान्छे महामन्त्री बन्ने भन्ने विषय महाधिवेशन घोषणा भइसकेपछि चर्चामा ल्याउँदा स्वाभाविक हुन्छ ।

युवा नेतृत्वको वकालत मात्र होइन, अभियान नै लिएर हिँडेको तपाईंजस्तो मान्छेको नेतृत्व पुस्तान्तरण भएन भन्ने भनाइमा अहिले के धारणा छ ?

पुुस्तान्तरण भन्दै गर्दा हिजो बीपीपछाडि गणेशमानजी, किशुनजीतिर आयो । किसुनजीको समकालीन फेरि गिरीजाबाबुतिर गयो । गिरिजाबाबु पछि अर्का पुस्तामा आउँदै गर्दा सुशील कोइराला र त्यसपछि शेरबहादुर देउवामा आयो । राजनीतिमा पुस्तान्तरण, हस्तान्तरण आदि शब्दावलीहरू सुन्दै गर्दा बडा मनोरञ्जनात्मक वा रोचक हुन्छ । तर तत्कालीन समयबमोजिम ठीक समयमा ठीक ढंगले विषय प्रवेश गरेर को नेतृत्वमा आउने भन्ने हुन्छ । कसैले कसैलाई हातमा राखेर दिने वा हस्तान्तरण गर्ने भन्ने हुँदैन । लोकतान्त्रिक दल हो, प्रतिस्पर्धाको बाटोबाट ठीक हिसाबले प्रतिस्पर्धा गरेर आउन सकिन्छ ।

कोही पनि मान्छे कुनै निर्वाचन क्षेत्रबाट सांसद बन्दै गर्दा कसैले कसैलाई हस्तान्तरण गरिराखेको हुँदैन, त्यो क्षेत्रका मतदाताले छानिरहेका हुन्छन् । नेपाली कांग्रेसमा पनि भोलि नेतृत्व छान्ने को हो भनेर अहिले चयन भएकै छैन । अहिले यति चाँडो र हतारो गरेर हल्ला जरुरी नै छैन । छान्ने हो हुन् ? छान्ने आकै छैनन् । तलबाट निर्वाचित भएर आउनुपर्छ । हाम्रो आठवटा तह छ । तलबाट छान्नेले छान्ने प्रक्रिया नै सुरु नभइकन अर्थात् मतदाता नै निश्चित नभईकन फलानो आउने वा फलानो नआउने भन्ने विषय सान्दर्भिक छैन ।

कांग्रेस जुझारु र सक्रीय प्रतिपक्षी हुन सकेन, इस्यु नपाएपछि कहिले गोविन्द केसीको विषयमा सदन अवरुद्ध गर्छ त कहिले के विषयमा गर्छ भन्ने आरोप छ नि ?

नेपाली कांग्रेसले यतिखेर विषय उठाउँदै गर्दा मंगल ग्रहमा माछापालनको विषय पक्कै उठाउन मिल्दैन । नेपाली समाजमा जे जीवन्त विषयहरू छन्, ती विषयहरूलाई नेतृत्व गर्ने हो । जहाँसम्म गोविन्द केसी डाक्टरसापको कुरा गर्नुभयो, नेपाली कांग्रेसको सरकार भएको बेलामा सुशील कोइराला नेतृत्वको सरकारले डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनायो । कांग्रेसले त्यो मुद्दालाई पछिल्लो समय सरकारभन्दा बाहिर हुँदा किन नउठाउने ? दोस्रो कुरा, शेरबहादुर देउवा नेतृत्वको सरकारले ७५ प्रतिशत छात्रवृत्ति स्नातक तह मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरूलाई, त्यस्तै गरेर १० वर्षसम्म काठमाडौंमा मेडिकल नखोल्ने, त्यस्तै एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढीलाई सम्बन्धन दिन नपाउने कुरा गाँसेर अध्यादेश जारी ग¥यो । हामी प्रतिपक्षमा गएपछि त्यो विषय किन नउठाउने ? राजनीतिक दलले उठाउनुपर्ने विषय यिनै हुन् ।र्को कुरा कांग्रेस बलियो प्रतिपक्ष देखिने नाममा २०४८ देखि ५० सालसम्मको तत्कालीन एमालेजस्तो बलियो प्रतिपक्षी पार्टी त बन्नु भएन नि त ।

कैयौं नेपाल बन्द र उपत्यका बन्द त्यतिबेला भएका छन् । वारी सत्तापक्ष र पारी प्रतिपक्ष भएर गरिने संवाद र गरिने द्वन्द्वले प्रतिपक्ष बलियो देखिन्छ भन्ने हामीलाई लाग्दैन । हामीले राखेको शालीनता, जिम्मेवारीबोध, सहयोगी भावनालाई लिएर कसैले कमजोर भन्नुहुन्छ भने त्यो उहाँको स्वतन्त्रता हो । कसैले बलियो ठान्नुहुन्छ भने त्यो पनि उहाँको अभिव्यक्ति हो । संसदमा जिम्मेवार ढंगले हाम्रा साथीहरूले बोलिरहनुभएको छ । संसदभित्र र बाहिर दुवैतिर शालीनता नै हाम्रो विशेषता हो ।

हिन्दू धर्मको विषय उठाउनु र केही नेताले ज्ञानेन्द्र शाहलाई केही संशय पैदा गरेको छ नि ?

नेपाली कांग्रेस भनेकै आमनेपाली बृहत् भेला हो । यो राजनीतिक दल मात्र होइन, नेपाली समाजको प्रतिबिम्ब हो । जसरी एउटा समाजमा बृहत्तर भेलाभित्र विभिन्नखाले समुदाय हुन्छ, धर्मको सन्दर्भमा, सम्प्रदायको सन्दर्भमा, चाहे समाज विकासको सन्दर्भमा विभिन्न विषय बुझ्ने फरकफरक कोण छन् । त्यस्ता विभिन्नखाले मतलाई नेपाली कांग्रेस पार्टीले आफूभित्र प्रविष्ट गर्छ । कांग्रेस पार्टीले लिने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विषयमा सम्पूर्ण रूपले पार्टीभित्र एकता छ । यसमा एकमतै हुन्छ । तर, अरू विचारको सवालमा आउने विभिन्न विषय प्रकट हुन्छ । ती विषयलाई हामी स्वाभाविक रूपमा लिन्छौं ।

कोइराला परिवारको पुरानो लिगेसी भएको पार्टीमा भोलि कोइराला परिवारका सबै एकै ठाउँमा आएर नेतृृत्व पुनः लिने सम्भावना पनि हुन्छ भन्छन् नि ?
पार्टी प्रवक्ताका रूपमा मैले संस्थागत कांग्रेस पार्टीको मतबाहेक अन्त उठ्ने विभिन्न प्रश्नबारे तपाईंलाई जवाफ दिन सक्दिनँ । कांग्रेसमा ककसको कहाँ भेट हुन्छ, कोको गुट बनाएर उठ्नुहुन्छ, कसकसको कहाँकहाँ उठबस हुन्छ, यी सबै कुराबारे फरकफरक व्यक्तिहरूलाई नै सोध्न सक्नुहुन्छ । मैले अहिले व्यक्ति विश्वप्रकाशभन्दा पनि प्रवक्ता विश्वप्रकाशका रूपमा बोल्नुपर्ने हुन्छ । पार्टीको संस्थागत विषयसँग गाँसिने प्रधान विषयहरूबारे पार्टीको धारणा नै मैले बोल्ने हो । अरू त आआफ्ना व्यक्तिगत विषय हुन् । मैले पनि सबैलाई शुभकामना न दिने हो ।

सरकारको कार्यशैली कस्तो लागिरहेको छ ?
यो सरकारलाई पाँच वर्षको म्यान्डेट प्राप्त छ । त्यसो भएकाले बडो धैर्यतापूर्वक पूरै अवधि शासन गर्ने हिसाबले नागरिक पंक्तिलाई विश्वासमा लिएर, वितृष्णा किन बढ्दै छन् भन्ने कुरालाई गम्भीर ढंगले आत्मसात् गरेर, लोकतान्त्रिक संस्कार र संस्कृतिलाई स्थापित गर्नेगरी, आफूभित्रको एकतालाई अझ घनीभूत बनाउने ढंगले जानुपर्ने हुन्छ । तर पछिल्लो समय सरकारसँग बढ्दै गएको असन्तुष्टि अन्ततः वितृष्णा बढ्दै गएर विभिन्न प्रश्न उठ्दै गर्दा दुःखद भएको छ । अहिलेको सरकारले आफूलाई सच्याएर जानुपर्छ । पाँचवर्षे अवधि पूरा गर्नुपर्छ ।

जागरण अभियानबारे पनि बताइदिनुस् न ?
हिमाल, पहाड, तराई, मधेसका नेपाली कांग्रेसमा राष्ट्रिय जागरण अभियान ल्याइरहेका छौं । वैशाख २५ मा आरम्भ भएर जेठको २५ मा पहिलो चरण सकियो । दोस्रो चरण जननायक बीपी कोइरालाको जन्म जयन्तीका दिन प्रत्येक निर्वाचन क्षेत्रमा १ सय ६ को दरले देशभरि ३४ हजार ९ सय भन्दा बढी बिरुवा रोपरे प्रारम्भ भएको छ । असोज ७ गतेसम्म यो पछिल्लो चरणको अभियान १५ दिन चल्नेछ र ३ सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रमा ३ सय ३० जना केन्द्रीय प्रतिनिधि कोही उकाली, कोही ओराली, कोही हिमालतिर, कोही पहाडतिर निस्किएर यसबेला कार्य गरिरहनुभएको छ । जागरण अभियानको तेस्रो चरण फेरि हामी पुसको ७ गते सुरु भएर पुस १६ गते टुंग्याउँछौं । (बुधबार साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्