दसैं भत्तामा साढे ६ अर्ब बाँडिँदै



काठमाडौं : सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए।

 

उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ।

 

दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ। यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

 

हाल विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैंपेस्की जाने गरेको छ। तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन्।

 

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ। हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख जना छन्। त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन्। स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन्।

 

चाडवाड शीर्षकमा कति खर्च हुन्छ भन्ने एकीकृत तथ्यांक नभएको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख निर्मलहरि अधिकारी बताउँछन्। यद्यपि, बजेटमा चाडपर्वका लागि १३ महिनाको तलबका रूपमा यसलाई समेटिएको उनले बताए। 

 

सो भत्ता सरकारी कार्यालयका सबै कर्मचारी, शिक्षकले पाउने अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। अघिल्लो महिना करारको अवधि निरन्तर ६ महिनासम्म पुगेका कर्मचारीलाई समेत चाडपर्व खर्च दिने व्यवस्था गरिएको छ। उनले भनिन्, ‘एक वर्षमा ६ महिनाको करार अवधि पुगेको छ भने पनि चाडपर्व दिने व्यवस्था छ।’

 

दसैंतिहार मात्र नभई अन्य चाडको हकमा पनि उक्त भत्ता लिन पाइने पौडेलले जानकारी दिइन्। उनका अनुसार हिन्दु धर्मावलम्बी बाहेकका कर्मचारीहरुले पनि आ–आफ्नो मुख्य चाडपर्वका अवसरमा भत्ता लिन पाइने उनको भनाइ छ। ‘यो दसैंलाई मात्र नभई सबै चाडपर्वका लागि दिइने खर्च हो,’ उनले भनिन्, ‘कर्मचारीले वर्षमा १३ महिनाको तलब पाउने हो।

 

सामान्यतयाः हिन्दूहरूको चाड दसैंको घटस्थापनामा सबैलाई समेट्ने गरी चाडपर्व भत्ता दिने चलन छ। तर ईद, क्रिसमसलगायत चाडपर्व मनाउने कर्मचारीले दसैंको सट्टा आफ्नो सम्बन्धित चाडपर्वमा उक्त भत्ता लिन पाउने व्यवस्था छ।’

 

संघीय संसद्‌मा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलब सुविधा पुनरवलोकन र अध्ययन गर्न एउटा आयोग गठन गर्ने घोषणा गरेका थिए। याे खबर अाजकाे अन्नपूर्ण पाेस्टबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्