बैंककको शपिङ मलको छाना खस्दा ग्राहकहरूको भागाभाग (भिडियो सहित)



एजेन्सी : थाइल्यान्डको राजधानी बैंककमा रहेको सबभन्दा ठूलो शपिङ मलको छत भत्किएपछि खरिददारी गर्न आएका मानिसहरू ज्यान बचाउन भागाभाग गरेका छन् । 

चर्को आँधी आएपछि परेको मुसलधारे पानीका कारण बुधवार राति सेन्ट्रल प्लाजा वेस्ट गेटको छत खसेको थियो । 

घटनाको भिडियोमा छत खसेर भुइँतल्लामा आइपुगेको देखिन्छ । स्तब्ध भएका ग्राहकहरू चिच्याउँदै भागेको अनि माथिबाट मुसलधारे पानी आएको देखिन्छ । 

‘मानिसमा यो परेको भए ठहरै हुन्थ्यो,’ एक ग्राहकले बताए, ‘ठ्याक्कै तल कोही पनि थिएन किनकि मानिसहरू छतबाट पानी चुहिएपछि अन्तै ओत लाग्न पुगेका थिए । आँधी निकै कडा थियो र पानी पनि शक्तिशाली थियो तर त्यसलाई थाम्न सक्ने शक्ति भवनमा हुनुपर्थ्यो ।’

मल व्यवस्थापनले कोही पनि घाइते नभएको र क्षतिग्रस्त इलाकातिर कसैलाई जान नदिई रातभरिमा मर्मत गरिएको जनायो । 

बिहीवार बिहान मल फेरि खुलेको थियो यद्यपि थुप्रै पसलमा क्षति पुग्यो । 

घटनाका कारण परेको असुविधाका लागि मल व्यवस्थापनले माफी मागेको छ । 

यस्तो घटना नदोहोरियोस् भनेर छत के कारणले भासियो भन्ने विषयको कारण पत्ता लगाउन इन्जिनीयरहरूले भवनको संरचना परीक्षण गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्