सरकारसँग वैधानिक विद्रोह गर्नुपर्ने आवश्यकता छ : महासचिवका प्रत्यासी गिरी



म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ निर्वाचन भोली (मंगलबार) ७ गते काठमाडौंमा हुँदैछ । विशेषत म्यानपावर व्यवसायीको हक र अधिकार संरक्षणका लागि यो संगठनले काम गर्दै आइरहेको छ ।

यसका साथै सरकारले अहिले धरौटीवापत दुई करोड राख्नुपर्ने व्यवस्था गरेको छ । यो रकमको व्याज व्यवसायीले पाउनुपर्ने कुरा अहिले म्यानपावर व्यवसायीमाझ टाउको दुखाइको विषय बनेको छ । यसलाई निराकरणका लागि पहलकदमी भूमिका निर्वाहका लागि आफू तयार रहेको महासचिवका प्रत्यासी रामचन्द्र गिरी (आर.सी) ले बताएका छन् । गोरखा पालुङटार स्थायी घर भएका गिरी नयाँ जोश र जागरले भरिएका युवा व्यवसायी हुन । शल्मानी ओभरसिज प्रालिका सञ्चालक रहेका गिरी २०५६ देखि म्यानपावर व्यवसायमा संलग्न छन् ।

यसै विषयमा केन्द्रीत रहेर द नेपालटपका सम्वाददाता नेपोलियन चेपाङले महासचिव पदका प्रत्यासी गिरीसँग कुराकानी गरेका छन् । कुराकानीको संक्षिप्त अंश :-

– महासचिवमा उठ्दै हुनुहुन्छ के छ तयारी ?
नेपाल वैदेशिक रोजगार व्यवासायी संघको निर्वाचनमा म सरोजकुमार पोखरेलको नेतृत्वको प्यानलबाट महासचिव पदमा उठ्दैछु । खासमा तयारी पूरा नै भएको छ । यसका लागि मतदाता भेट्ने र भोट माग्ने काम प्रमुख रुपमा चलिरहेको छ ।

– तपाईलाई मतदाताले भोट दिनैपर्ने खास कारण ?
अहिले म्यानपावर व्यवसायीहरुलाई सरकारले घाँटी अठ्याउने काम गरेको छ । सरकारले म्यानपावर व्यवसायीलाई धरौटीवापतको दुई करोड रुपैयाँ राख्नुपर्ने प्रावधान गरेको छ । यसमा हामी व्यवसायीहरुले राख्ने दुई करोड रुपैयाँको व्याज व्यवसायीले नै पाउनुपर्ने माग हामीले सरकारसँग गरेका छौ त्यो पूरा भएको छैन । यसको लागि म आफ्नो भन्दा पनि व्यवसायीहरुको हक र हितका लागि काम गर्नेछु । अर्को भनेको अहिले जति पनि नेपाली कामदारहरु विदेश गइरहेका छन् उनीहरुले उचित खालको परिश्रम तथा सेवा सुविधा पाएका छैनन् । त्यसको लागि मैले संघमा जिते भने पहल गर्नेछु र रोजगारका लागि नयाँ गन्तव्य खोज्नको लागि व्यक्तिगत रुपमा र संस्थागत रुपमा सरकारलाई घच्घच्याउने काम गर्छु । मलाई यस निर्वाचनमा महासचिव बनाउनुभयो भने नेपालबाट रोजगारका लागि विदेश पलायन हुने दाुजुभाई तथा दिदी बहिनीहरुलाई रोजगारदाता कम्पनीबाट उचित खालको सेवा सुविधा दिने व्यवस्था मिलाउछु । सरकारलाई यस विषयमा गर्नुपर्ने कामका लागि सहयोग गर्छु । अर्को भनेको आस्थाका आधारमा कुनै पनि व्यवसायीलाई पिरमर्कामा पार्ने काम गर्नेछैन । सबैलाई आफू सक्दो सहयोग गर्नेछु । अहिलेसम्म संघलाई माथि ल्याउनको लागि मैले गरेका कामहरु नै आम मतदाताहरुले भोट गर्ने आधार हो । खासमा अहिले सरकारसँग वैधानिक बिद्रोह गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रा पिरमर्कालाई व्यवस्थित गर्नको लागि सरकारसँग यो विद्रोहको आवश्यकता मैले महशुस गरेको छु ।

– अन्य एजेण्डाहरु के–के छन् ?
हामीले २१ बुँदे घोषणापत्र तयार गरी चुनावी अभियानमा लागको छौं । मूलतः ती घोषणापत्र भनेका नै हाम्रो मार्गदर्शन हुन् । त्यसै घोषणापत्रलाई आधार बनाएर हाम्रा मार्गदिशा पनि निर्धारण हुनेछन् । मुख्यतः म्यानवापर व्यवसायमा आएका विभिन्न खाले समस्यालाई समाधान गर्नको लागि हामीले मिहेनत गर्ने हो । हाम्रो देशबाट रोजगारीका लागि करिब ५० लाख जनशक्ति विदेशमा रहेका छन् । उनीहरुले काम अनुसारको उचित खालको सेवा सुविधा पाएका छैनन् । त्यसको लागि हाम्रो यो टिमले पहल गर्नेछ । त्यस्तै अब श्रमका लागि विदेश जानेहरुको लागि सेवा, सुविधा निर्धाणका लागि रोजगारदाता कम्पनी र देशसँग परामर्श गरेर मात्र सम्झौता गर्न सरकारलाई दवाव दिने हाम्रो काम हुनेछ । हामी सरकारका हरेक नीतिनियमलाई शिरोपर गर्दै म्यानपावर कम्पनीको र सरकारको हितको लागि काम गर्नेछौ ।

– सरकारले तत्काल सम्बोधन गर्नुपर्ने मागहरु के–के छन् ?
सरकारले अहिले वार्षिक सय जना कामदार विदेश नपठाए लाइसेन्स नै खारेज हुने नियम लगाएको छ । यो व्यवसायीहरुको लागि घातक हो । सरकारले यो नियमलाई परिमार्जन गर्न आवश्यक छ । अहिले एनजीओ आइएनजीओले बनाएका कानून नेपाल सरकारले लागू गरेको छ । यो हामीलाई मान्य छैन । २० औं वर्ष काम गरेका व्यवसायीले दिएको सुझावका आधारमा कानून बनाउन सरकारलाई सहयोग गर्नेछौं ।’

अर्को भनेको म्यानपावर कम्पनीले सेवाशुल्क वापत आउँदै गरेको सेवाशुल्क एकदमै थोरै रहेको छ । यसमा एक महिनाको पारिश्रमिक बराबर शुल्क म्यानपावर कम्पनीलाई दिने व्यवस्था गर्नुपर्छ ।

– अन्तमा के भन्न चाहुनहुन्छ ?
अन्त्यमा म आम मतदातालाई मलाई भोट गरेर हाम्रा पिरमर्कालाई सुल्झाउने ठाउमा पुर्याईदिनुस भन्न चाहन्छु । म नेतृत्वमा आए भने सबै म्यानपावर व्यवसायीको हितको लागि काम गर्न चाहन्छु मलाई यो अवसर प्रदान गर्नको लागि तपाईहरुकै साथको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्