राष्ट्रपतिको बोलीले ल्याएको तरंग



काठमाडौं : एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला सभापति देउवाको सचिवालयले भने यस कुराको खण्डन गर्दै विज्ञप्ति जारी गरेको छ ।

यो विषय सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त कार्यक्रममा राष्ट्रपति भण्डारी र सभापति देउवाबीच के भएको थियो भन्ने सबैमा कौतुहलता बढेको छ । खासमा के भएको थियो त ?

राष्ट्रिय सभागृहमा शुक्रबार गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा गम्भीर खालका टिकाटिप्पणी हुन पुग्यो । यी टिकाटिप्पणीले कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति भण्डारी र सभापति देउवाबीच निकै ठूलो असामन्जस्यता खडा भयो ।

यतिसम्म भयो कि सभापति देउवाले के बोलेका थिए र राष्ट्रपतिले के प्रतिक्रिया दिएकी थिइन् भन्ने कुरा जान्न सबैलाई जिज्ञासा उत्पन्न गराइदियो । तर सामाजिक सञ्जालमा यी सबैको वेवास्ता गर्दै भाइरल बन्यो । सामाजिक सञ्जालले यथार्थतालाई अझ रहस्यमय बनाउँदै लग्यो । देउवाले राष्ट्रपतिले भनेको कुराले ‘आफ्नो चित्त नदुखेको’ प्रतिक्रियासम्म दिन पुगे ।

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले व्यवस्थापनको कमजोरीका कारण मञ्चमा रहेका अतिथिदीर्घामा वक्ताले बोलेका कुरा सुन्न र बुझ्न नपाइएकोतिर संकेत गर्दै “यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ, नेताहरू जोसिएर बोल्नुभयो, फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो, राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो,” भनेका कुरा फेसबुकमा भाइरल भए । संयोग कस्तो परेको थियो भने राष्ट्रपति भण्डारीभन्दा ठीक पहिले देउवा बोलेका थिए । सामान्यतः देउवा जोसिएर छिटोछिटो बोल्दा उनको बोली बुझ्न गाह्रै पर्छ । तर राष्ट्रपतिले सभापति देउवालाई व्यङ्ग्य गरी उडाएको भन्दै यसलाई फेसबुकमा प्रतिक्रियामाथि प्रतिक्रिया दिँदै भाइरलै बनाइयो । कुरा यत्ति मात्र हो । तर जनचासो र प्रतिक्रियालाई मध्यनजर गरेर बिबिसी नेपाली सेवालेसमेत देउवाको यसबारेमा प्रतिक्रिया मागेपछि यसले चर्चाको शिखर नै छुन पुगयो ।

कमजोर व्यवस्थापन
यो अनावश्यक बहस र परिचर्चाको कारक कमजोर व्यवस्थापन नै हो । व्यवस्थापनको कमजोरीका कारण राष्ट्रपति भण्डारीले सभापति देउवाले बोलेका कुरा सुन्न नपाएको प्रतिक्रिया दिँदा यस्तो हुन गएको हो । तर कुरालाई भावनात्मक मोड दिइयो ।

देउवाको सरकार विरोध असान्दर्भिक
पदक वितरणको कार्यक्रममा देउवाले सरकारको विरोध गरेर केही असान्दर्भिक हुनेजस्ता कुरा गरे । पदक वितरण शीर्षकमा आयोजित कार्यक्रममा देउवाले फरक मन्तव्य दिएर ताली खाएको कुराबीच प्रासांगिकता कम देखिन्छ । राष्ट्रपति यसैमा रनभूल्ल परेको हुनसक्छ । पदक वितरणको सन्दर्भ र देउवाको मन्तव्यबीच तालमेल पनि भएको देखिदैन । हुन त नेपालमा र विश्वमा पनि आयोजित कार्यक्रमका बारेका प्रवेश गरी अलिकति छुने मात्र अनि बाँकी घण्टौ राजनीतिक कुरा गर्ने नेताहरुको बानी छ ।

बोल्ने क्रममा देउवाले ओली सरकारलाई भनेका थिए– “दुईतिहाईको सरकार भन्दैमा प्रजातन्त्रका आधारभूत कुरा हटाउन पाइन्छ ?” प्रधानमन्त्री ओलीतिर इंगित गर्दै उनले थपेका थिए– “किन चाहियो सबै अधिकार उहाँलाई ? आफ्ना मन्त्रीमाथि विश्वास गर्न नसक्नेले के देश चलाउँछन् ? हामी सहयोग गर्न चाहन्छौं । तर हामीले रेलिङ भत्काएनौ र कुर्सी भाँचेनौ भनेर हेपेको हो हामीलाई ?”

राष्ट्रपति जस्तो संस्थालाई वारम्वार विवादमा तान्ने प्रयास
घटनाका पछाडि उपर्युक्त कुराहरुका अतिरिक्त राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने प्रयत्नले पनि काम गरेको देखिन्छ । राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको संस्थालाई यसरी आशंकाका भरमा विवादमा ल्याउनु राम्रो होइन । संसदीय अभ्यासमा शायद नेपालीहरु बानी नपरेको र नेपालमा त्यो वातावरण पनि बन्न नसकेको यसले देखाउँछ ।

राष्ट्रपतिका सल्लाहकारको प्रतिक्रिया
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले यो घटनाका बारेमा गरिएको टिकाटिप्पणी राष्ट्रपतिलाई विवादमा तान्ने प्रयासका रूपमा लिएका छन् । उनका अनुसार राष्ट्रपतिले कुनै कुरा बुझिन भन्नुको अर्थ बोली नबुझेको नभई कुरा नबुझेको पनि हुन सक्छ । उनी थप्छन्, राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास नगर्दा राम्रो हुने थियो ।

मनोविदको बुझाइ
अहिले नेपाली मनोविज्ञान केही बढी भावनात्मक बनेको देखिन्छ । यसले माया, इष्र्या, डाह, लोभ, अहंकार, दम्भ र हिनताको विकास गराएको छ । यसले हरेक कुरालाई आवेग र संवेगद्वारा अभिव्यक्त गराउँछ । विवेक प्रयोगको कमी देखिन्छ । कतिपय त आलोचना गर्नैका लागि अर्काको गल्ती कुरेर बस्ने गरेको सञ्जालमा अभिव्यक्त स्टाटस्बाट थाहा हुन आउँछ ।

अर्कोतिर जसले जे भने पनि राष्ट्रपतिले आफ्ना कुरा सर्लक्क राखेर जानुपर्ने हो । उनले व्यवस्थापनबारे केही टिप्पणी नगरेको भए राम्रो हुने थियो । कम्तिमा यस्तो विवाद त निम्तने थिएन । शायद राष्ट्रपतिले आफ्नो मर्यादा पनि ख्याल गर्नुपर्ने हुन्छ कि !

थप कुरा, अहिले राजनीति र राजनीतिक नेताहरुप्रति जनताको मान, सम्मान, मर्यादा र विश्वास घट्दै गइरहेको छ । यो घटना राजनीतिक वृत्तसँग जोडिएकाले सामाजिक सञ्जालको आक्रमणमा परेको हो । जनस्तरमा लोकप्रिय रहेको हालको सञ्चार माध्यम भनेको नै सामाजिक सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्