दशैंको टिकाको साइतलाई लिएर विवाद !



काठमाडौं : यसपालिको दशैंको टिकाको साइतलाई लिएर विवाद भएको छ । यो विवाद अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले बेग्लै साइत जारी गरेपछि सृजना हुन पुगेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ भने अन्तर्राष्ट्रिय समितिले नेपालमा भन्दा एक दिन अगाडि नै अमेरिका, क्यानडा र वेलायतका नेपालीले टिका लगाउनुपर्ने अवस्थालाई ध्यानमा राखेर नयाँ साइतको तिथी सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय समितिले सरकारद्वारा गठित आधिकारीक पञ्चांग निर्णायक समितिको निर्णयको र्वखिलाफ गर्दै नयाँ तिथी तय गरेपछि विदेश बाहिर रहेका नेपालीहरु अन्योलमा परेका छन् ।

कतिपयले दशैंको टिकामा समेत राजनीतिक सुरु भएको भनेर चिन्ता पनि प्रकट गरेका छन् । यसअघि आधिकारीक पञ्चांग निर्णायक समितिले निकालेको साइतमै विदेशमा रहेका नेपालीहरुले पनि टिका लगाउँदै आएका थिए ।

डा. माधव भट्टराई अधयक्ष रहेको अन्तर्राष्ट्रिय समितिले अक्टोबर ७ तारिखमा टिकाको साइत जुराएको छ । जबकी नेपालमा अक्टोबर ८ मा टिका लगाउने साइत सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय समितिले विभिन्न देशमा कुन मिति र समयमा टिका लगाउने भनी सूची नै जारी गरेको छ । समितिले अमेरिकाका विभिन्न ठाउँका लागि ७ तारेखका दिन चार वटा साइत जारी गरेको छ । समितिले अष्ट्रेलियामा ८ तारेखमै टिका लगाउनुपर्ने भनेको छ तर त्यहाँका लागि ठाउँ अनुसार तीन फरक समय निर्धारण गरेको छ ।

नाममा ‘अन्तर्राष्ट्रिय’ शब्द राखेर बनाइएको समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराई छन् । उनले र संस्थाका सदस्य सचिव सन्तोष वासिष्ठको हस्ताक्षरमा विभिन्न देशका लागि टिकाको साइत रहेको भन्दै सार्वजनिक सूचनानै जारी गरेका छन् ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समिति काठमाडौं जिल्ला प्रशासन कार्यालयमा एनजीओको रुपमा दर्ता भएको एक संस्था हो । आधिकारिक पञ्चांग निर्णायक समितिले गर्नुपर्ने काम एनजीओले गरेको भनेर पनि विवाद र विरोध हुन थालेको हो ।

नेपालमा टिका तथा अन्य चाडपर्वको साइत हेर्ने एकमात्र आधिकारिक निकाय नेपाल पञ्चांग निर्णायक समिति हो । यो समिति सरकारले नै गठन गर्छ । दशकौंदेखि यो समितिले काम गर्दै आइरहेकोमा नवगठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विदेशमा रहेका नेपालीहरुका लागि भन्दै बेग्लै साइत जारी गरेपछि विवाद सुरु भएको हो ।

विदेशमा फरक मिति किन ?

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अध्यक्ष माधवप्रसादले विगतमा नेपाली विदेशमा थिएनन्, नेपालीहरु विदेशिएसँगै विदेशका लागि पनि टिकाको साइत निकाल्न परेको बताए । आधिकारिक पञ्चांग निर्णायक समितिले यो काम नगरेको हुनाले आफूहरुले गर्नुपरेको उनको भनाई छ ।

अमेरिकावासी नेपालीले चाड पर्व, तिथी श्राद्ध आदिमा नेपालकै तिथी, साइत तथा समय मान्दै आएका थिए ।

डा. माधवप्रसादको तर्क के छ भने तिथी तथा साइत निकाल्ने काम चन्द्र र सूर्यको अवस्थिति हेरेर हुन्छ । हरेक देशमा चन्द्र र सूर्यको अवस्थिति फरक हुन्छ । त्यसैले अमेरिकामा बसेर नेपालको पात्रो हेर्नु उचित हुँदैन ।

प्रतिक्रिया दिनुहोस्