निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी



कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषहरूलाई यातना दिनेविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ ।

प्रमाण नष्ट गर्नेविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर र प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टलाई यातना दिनेविरुद्ध यातना कसुरमा सोमबार जाहेरी पेस भएको हो । सार्वजनिक न्यायविरुद्धको कसुरमा निर्मलाकी आमा दुर्गादेवी र यातनासम्बन्धी कसुरमा दिलीप विष्टका दाइ खडक विष्टले जाहेरी दिएका हुन् ।

दुर्गादेवीले बर्खास्तमा परेका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट, निलम्बितहरू डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्र खडका, सई हरिसिंह धामी, प्रहरी सहायक निरीक्षक रामसिंह धामी र हवल्दार चाँदनी साउदका नाममा जोहरी दिएकी हुन् ।

जाहेरीमा दुर्गादेवीले छोरीको खोजी गर्दादेखि शव भेटिएपछि र अन्त्येष्टि गर्दासम्म प्रहरीले लापरबाही गरेको उल्लेख गरेकी छन् । छोरी हराएको जानकारी गराउँदा समयमा प्रहरी नआएको, शव भेटिँदा घटनास्थल सुरक्षित नगरेको र प्रहरीबाटै प्रमाण नष्ट भएको उल्लेख छ ।

यसैगरी घटनाको अनुसन्धानका क्रममा पनि प्रहरीले अपराधी पत्ता लगाउने भन्दै दोषीलाई बचाउने गरी काम गरेको लगायतका उल्लेख छन् ।

‘निर्मला पन्त हराएको सूचना लिनेदेखि शव फेला परेको स्थानको सुरक्षा, प्रमाणको सुरक्षा र संकलन, पोस्टमार्टमका सम्पूर्ण प्रक्रिया, शव बुझाउने र जलाउने प्रक्रिया तथा अपराधका सम्पूर्ण चरणमा योजनाबद्ध तयारी गरेका कारण मुलुकी फौजदारी संहिताको दफा ८९, ९२, ९३ र ९९ बमोजिमका कसुर अपराध गरेकाले प्रतिवादीउपर अनुसन्धान गरी हदैसम्मको सजाय गरिपाऊ’ जाहेरीमा उल्लेख छ ।

दुर्गादेवीले प्रहरीमा जाहेरी दिँदा प्रमाण नष्ट गर्नेलाई कारबाहीसँगै लुकेर बसेका हत्यारासमेत पत्ता लगाउन माग गरेकी छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्