नवरात्रीको चौंथो दिन कुष्माण्डा देवीको पूजा–आराधना गरी मनाइँदै



काठमाडौं : आज दशैंको चौथो दिन । चतुर्थीका दिन आर्थात् आज (बुधबार) पूजा गरिने भगवतीको नाम कुष्माण्डा देवी ।

सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो । आफ्नो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डा देवी भनिएको हो ।

सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो । यस्तो अवस्थामा यी देवी कुष्माण्डाले खिसिक्क हाँसेर ब्रहृमाण्डको सृष्टि गरे । पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै उनी हुन् ।

यी देवीको आठ हात भएका हुनाले यी देवीको अर्को नाम अष्टभुजा देवी पनि भनिने गरिन्छ । यी देवीको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ ।

कुष्माण्डा देवीलाई कुभिण्डोको बलि ज्यादै मनपर्ने हुनाले पनि यी देवीलाई कुष्माण्डा पनि भनिन्छ । देवीको तेजको तुलना यिनीसँग मात्रै गर्न सकिन्छ । अरू कुनै पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन् । यी देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ ।

यसैले गर्दा आज मुलुकभर कुष्माण्डा देवीको शक्तिपीठहरुमा पूजा आराधना गरी मनाइँदै छ । आज उपत्यकासहित देशभर रहेको देवीको मन्दिरमा पूजा गर्न भक्तजनहरुको विहानैदेखि घुइँचो लागेको छ । काठमाडौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा देशभरका शक्ति पीठहरुमा नवरात्रभर विशेष पूजा आराधना गरिन्छ ।

यसअघि दशैंको पपहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा–आराधना गरिएको थियो भने आज कुष्माण्डा देवीका पूजा आराधना गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्