मधेसमा दशैं अर्थात दसहरा



रौतहट : फूलपाती नजिकिदै गर्दा देशभरि बडादशैंको रौनक बढेको छ । देशभरी रौनक बढ्दा मधेसमा भने धुमधामसँग मनाईरहेको छ । दसैं पर्वको तराई मधेसमा भने छुट्टै महत्व रहेको छ । बडादशैं भनेर मनाइने यो विशेष पर्वलाई मधेसमा दसहरा तथा विजया दशमीको नामले मनाइन्छ ।

दुर्गा भवानी, लक्ष्मी, गणेशलगायतको मूर्ति बनाउने र पूजा गर्ने परम्परा मधेसका गाउँ एवं सहरमा व्याप्त छ । साथै महिषासुरको पनि मूर्ति बनाइएको हुन्छ । माटोका मूर्ति बनाउन स्थानीयका साथै भारतबाट पनि कालिगढ मगाउने गरिन्छ । मधेसका गाउँ एवं सहरमा विभिन्न समिति बनाएर पूजापाठ गर्दै रमाइलो गर्ने चलन छ । पूजामा लाग्ने खर्च प्रत्येक घर स्वैच्छिक रूपमा चन्दा उठाएर गरिन्छ भने यस्तो पूजापाठ जातीय छुवाछूत र भेदभावबिना हिन्दू परम्पराअनुसार मिलेर गर्ने गरिन्छ ।

मठ मन्दिरका पुजारीले राखेको कलस र जमरा गाउँका सर्वसाधारणलाई पुजारीले नै आशिर्वाद दिँदै कानमा लगाइदिन्छन् । मठमन्दिरमा समेत विशेष गरी पूजापाठ हुने गर्छ । बारा प्रसौनी–६ बेलहियास्थित शंकर मन्दिरका पुजारी रामाकान्त दासका अनुसार दसहरा अवधिभर विशेष पूजा गर्नुका साथै सर्वसाधारणलाई आशिर्वाद दिने प्रचलन छ । यो अवधिमा पूजापाठ गर्नाले आफूले इच्छाएको कुरा पूरा हुने आशा रहेको पनि उनको भनाइ छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई मधेसमा दसहराको नामले चिनिन्छ । दसहरा प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भए तापनि पहिलो नौ दिनलाई नवरात्रि र १०औं दिनलाई दसहरा भन्ने गरिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् रामचन्द्रले रावण वध गरी मानवजातिको कल्याण गरेको किंवदन्ती छ ।

दसहरा अवधिभरि गाउँ देहातको दक्षिणी कुनामा रहेका ब्रह्मबाबाको पूजापाठ पनि गर्ने गरिन्छ । शुद्ध तोरीको तेलको दियो बाली गरी पूजापाठ गर्ने प्ररम्परा रहँदै आएको छ । यसैबीचमा रमाइलो गर्न ठाउँठाउँमा रामलिला, अल्लाह रुदल, बिर्जाभारलगायतका स्थानीय सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको हुन्छ । नेपाल भोजपुरी प्रष्ठिान बाराका अध्यक्ष रामप्रसाद साहले दसहराको महत्व विभिन्न दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँछन् । दसहरा परम्परागत धार्मिक, सांस्कृति प्रचलन रहेको र अहिले पनि युवामा यो परम्परा कायम नै राख्ने सोच रहेको अध्यक्ष साहले बताए ।

केही समय यता खर्चिलो एवं तडकभडकका साथ मनाउने प्रचलन पनि बढदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् । अध्यक्ष साह भन्छन्, ‘दसहरा हाम्रो परम्परागत रूपमा रहेको धार्मिक, सांस्कृति सम्पत्ति भएकाले यसमा विकृति भित्रन दिनुभएन, धार्मिक आस्था एवं विश्वासका साथ यसको संरक्षण गर्नुपर्छ । मधेसका गाउँ देहातमा स्थानीय क्लबकै सक्रियतामा विभिन्न देवीदेवताको मूर्ति बनाएर पूजापाठ गरिए पनि मधेसकै ठूला सहरमा विशाल रूपमा खर्चिलो गरी मनाउने गरिन्छ । केही समययता एउटै टोल एवं सहर बजारमा सय मिटरको दूरीमै छुटाछुटै समूह बनाएर पूजापाठ गर्ने प्रतिस्पर्धा नै चलेको छ । यसरी भइरहेको प्रतिस्पर्धा एवं होडबाजीले सांस्कृतिमा विकृति भित्रँदै गएको वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक देवेन्द्र मिश्रले बताए ।

कलैया, वीरगन्ज, गौर, जलेश्वर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर, परासी, नेपालगन्ज, भैरहवा, बुटवललगायत ठाउँमा समूहगत रूपमा पूजापाठ विशेष गरी प्रतिस्पर्धात्मक तरिकाले मनाउने गरिएको छ । ठूला पण्डाल एवं झकिझकाउ तरिकाले पूजा गरिन्छ । यी ठाउँमा हुने पूजापाठ स्थलमा मेला पनि लाग्ने गरेको छ । जहाँ भक्तजन पूजापाठ गर्न आउनुका साथै किनमेल पनि गर्छन् ।

पूजापाठ सकेपछि माटोको बनाइएको मूर्ति बाजागाजासहित नजिकैको नदी या पोखरीमा सेलाउने गरिन्छ । त्यो मूर्ति नसेलाउन्जेल घरमा आएका छोरीलाई बिदा गरिँदैन ।

मूर्ति सेलाएपछि ठेकुवा, मिठाईसहित नयाँ लताकपडाका साथ छोरीलाई बिदा गरिन्छ । घटस्थापनादेखि फूलपातीसम्म माछामासु पूर्ण रूपमै बन्देज गरिन्छ । माछामासु किनबेच एवं खाने विषयमा कुनै निर्णयबिना नै स्वस्फुर्त बन्द भएको हो । फूलपातीका दिन खसी, बोकाको बलिदिएपछि त्यसलाई प्रसादका रूपमा खाने चलन छ । मधेसी समुदायमा त्यो प्रसाद एक्लै नभई गाउँ देहातमा बाँडेर खाने गरिन्छ ।

प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दसैंका प्रमुख तिथि रहेको पुजारी दास बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्