यस्ता छन् –नेकपामा चर्चित यौनकाण्ड



काठमाडौ : नयाँ सांस्कृतिक मूल्य–मान्यता अर्थात सांस्कृतिक रुपान्तरण, तत्कालिन माओवादीले २०५२ सालमा शसस्त्र जनयुद्ध शुरु हुनुअघि देखि नै उठाउदै आएको विषय हो ।

जनयुद्ध शुरु गर्नुअघि माओवादीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको ४० बुँदे मागमा यो विषय प्राथमिकताका साथ समेटिएको थियो । माओवादीले तत्कालिन सरकारलाई बुझाएको मागपत्रमा ‘साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमण अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिका आयात र बिक्रीवितरणमा तुरुन्त रोक लगाउनुपर्छ ’ भनेर माग गरिएको थियो ।

२०५२ फागुन १मा तत्कालिन माओवादीले जनयुद्ध शुरु गर्दा जारी गरेको अपिलमा पनि सांस्कृतिक पक्षलाई महत्वका साथ उठाईएको थियो । तर सांस्कृतिक विचलन भने जनयुद्धकालमा आफ्नै पार्टीभित्र माओवादीले धरेै झेल्नुपर्योे ।

पार्टीभित्र जनयुद्धताका एकपछि अर्को गर्दै यस्ता यौनकाण्ड सम्बन्धि विवादहरु बढ्दै गएपछि यो विषय जनयुद्धताका निकै बहस र टाउको दुखाईको विषय बन्यो । पार्टीको केही वैठक यस्तै बढ्दो प्रवृत्तिमा केन्द्रित रहे । २०५४ सालको केन्द्रीय समितिको वैठकमा यो निकै बहसको विषय बन्यो । त्यसो त सांस्कृतिका विचलनमा परेका नेताहरुको घटना र कारवाहीबारे तत्कालिन नेकपा माओवादीले आफ्नो दस्तावेजमै लेख्यो । नेपालटपलाई प्राप्त जानकारी अनुसार यसबीचमा यी विषयलाई कारवाहीको तहसम्मै पुर्यायो माओवादीले । यी मध्ये कतिपय घटना पुष्टि भए भने केही आरोपमै सिमित रहे ।

जनयुद्धकालमा माअ‍ेवादीभित्र चर्चित यौनकाण्डको रुपमा आलोक प्रवृत्ति भनेर चिनिन्छ । जुन यानप्रसाद गौतम आलोक काण्डका रुपमा चर्चित नै छ । तत्कालिन माओवादीको पूर्वाञ्चल प्रमुख रहेका आलोकको नाम काभ्रे– रामेछाप सेक्रेटरी रहेकी रुकु चौलागांईसँग जोडियो । यसले पार्टीभित्र ठूलो रुप लियो । अन्ततः आलोकलाई श्रमशिविरमा राखेर अनुशासन कारवाही गरिएको थियो ।

उनलाई पार्टीबाट समेत निष्कासन गरिएको थियो । निष्कासनपछि श्रम शिविरमा राखिएको उनको शिविरमै मृत्यु भएको थियो । यद्यपी माओवादीले उनी दोहोरो भिडन्तमा मारिएको बताउदै आएको छ ।

जनयुद्ध थालिएको दोस्रो वर्षमै पछि कृषि मन्त्री समेत भएका केन्द्रीय नेता हरिबोल गजुरेल शितलकुमारले पनि सांस्कृतिक विचलनमा परेर कारवाही भोगे । जनयुद्धपछि मन्त्री समेत भएका गजुरेलमाथि त्यसबेला पार्टीकै एक महिला कार्यकर्तासँग अनैतिक सम्बन्ध राखेको अभियोग लागेको थियो । पछि संविधानसभा सदस्य भएकी नीरकुमारी दर्नालसँग पनि यस्तै काण्डमा मुछिएका गजुरेल पछि कारवाहीमा समेत परे । नेपालटपलाई प्राप्त जानकारी अनुसार दर्नालका श्रीमानको जनयुद्धमा सेनाद्धारा हत्या भएको थियो ।

हाल कारावासमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली सुदर्शन माथि पनि यौनकाण्ड लागेको थियो । त्यही प्रकरणमा उनलाई पनि पार्टीले कारबाही गरेको थियो तर पछि त्यो घटना त्यसै हराएर गयो ।

२०५७ सालमा अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णध्वज खड्कालाई पनि तत्कालिन महिला विधार्थी नेतृले आफूलाई यौनदुव्र्यवहार गरेको आरेप लगाएपछि खड्का ६ महिना पार्टीबाट निष्कासित हुन पुगे ।

यस्तै पार्टीको केन्द्रीय सदस्य हिमाल राई पनि यौनकाण्डमा एक वर्ष पार्टीको निलम्वनमा परको थिए ।जुन विप्लव माओवादी हुँदै नेकपामा प्रवेश गरेका छन् ।

त्यस्तै संचारमन्त्री भईसकेका तत्कालिन माओवादीका नेता राम कार्की पनि यस्ता प्रकरणमा जोडिदै आएका छन् । उनको नेतृ सुशिला कनदङवासँग नाम पनि जोडियो ।नेपालटपलाई प्राप्त जानकारी अनुसार यस प्रकरणमा पार्टीले २ वटा छानविन समिति गठन गरेपनि प्रतिवेदन भने बाहिर आएन । त्यसैले त्यो त्यत्तिकै सामसुम हुन पुग्यो । यसैगरी माओवादी नेता गुणाखर बस्याल पनि महिनौसम्म एक होटल व्यवसायी महिला लिएर वेपत्ता भएको कुराले पार्टीभित्र हलचल नै ल्यायो ।

अहिले खानेपानीमन्त्री रहेकी विना मगर र प्रकाशबीचको प्रकरणले पनि त्यतिबेला निकै हंगामा मच्चाएको थियो भने जनयुद्धकालमा बादल र माओवादी नेतृ हिमानीबीचको सम्बन्ध पार्टी वैठकमा एजेण्डा नै बनेको थियो । उनीहरुलाई पार्टीले कारबाही समेत गरेको थियो ।

तत्कालिन नेकपा एमालेका नेताहरु पनि यौनकाण्डबाट अछुत छैनन् । कारबाहीको विषय बनाएर छलफल नभएपनि कतिपय नेताहरुको विषयमा प्रश्न उठेको बताईन्छ । नेपालटपलाई प्राप्त जानकारी अनुसार तत्कालिन एमाले नेता तथा सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ यस्तै प्रकरणमा पार्टीले कारबाही गरेपछि गुमनाम छन् ।

तत्कालिन एमालेका नेता मोदनाथ प्रश्रितको नाम पनि यस्ता प्रकरणमा जोडिदै आएको छ । तर पुष्टि भएको अवस्था भने छैन । केही समयअघि सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी यस्तै काण्डमा कारबाहीमा परेका छन् ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका विषयमा पनि एक महिलाका कार्यकर्ताले आरोप लगाउदै आएकी छन् । त्यासो त तत्कालिन पर्यटनमन्त्री कृपाशुर शेर्पामाथि पनि यस्तो आरोप लाग्दा निकै चर्चित विषय बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्