यसरी जीउँदै जलाएका थिए आलमले २२ लाई इँटा भट्टामा



काठमाडौं : नेपाली कांग्रेसका नेता मोहमद अफताफ आलम बम बिष्फोट घटनासँगै मृत र घाइते गरी २२ जनाको सामूहिक हत्या अभियोगमा १२ वर्षपछि गिरफ्तार परेका छन् । सर्वाेच्च अदालतमा न्यायका लागि निवेदन दिई आलममाथि सामूहिक हत्या अभियोग दर्ता गर्न आँट गरेकी रुक्साना यसअघि नै रहस्यमय हिसाबले मारिइसकेकी छन् । तथापि यस्तो कहालीलाग्दो घटनाको पृष्ठभूमि हुँदाहुँदै पनि मोहम्मद यो १२ वर्षको बीचमा पटकपटक सांसद र मन्त्री बनिसकेका छन् । गिरफ्तारीपछि आलमको सांसद पद हाललाई निलम्बित गरिएको छ ।

घटना २०६४ चैत २७ गतेको थियो । मत खसाल्न केही घण्टा मात्र बाँकी थियो । चुनावी बुथ र प्रतिस्पर्धी उम्मेदवारका घरमा बम बिस्फोट गराउने आशयले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार मोहम्मद अफताफ आलमले प्रचासप्रसार टिमलाई रातमा बम बोक्ने कामका लागि खटाए । बम बनाउने काम राजपुर फरदवा गाउँदेखि टाढा रहेको स्थानीय शेख इन्डियासको गोठमा जारी थियो ।

आलमको उद्देश्य थियो, बम बिस्फोट गराएर मतदातामा त्रास उत्पन्न गरी बुथ कब्जा गर्ने र जनमत आफ्नो पक्षमा पार्ने । तर रातमा बम बनाइरहेको गोठमा बिस्फोटको निकै ठूलो आवाज आयो । बम बिष्फोटको त्रासदीले स्थानीय गाउँहरुमा सन्नाटा छायो ।

बम बिष्फोटमा त्रिलोकप्रतापसिंह, एकजना नेपाली र २० जना भारतीयको मृत्यु भएको जानकारी दिइयो । असावधानीका कारण चुरोटको आगो सल्किएर बम बिस्फोट भएको प्रारम्भिक अनुमान रहे पनि अन्य कारणहरु अझैसम्म खुलेका छैनन् । भनिन्छ, त्यतिबेला बम बनाइसकेपछि चुनावी बुथ र प्रतिस्पर्धी उम्मेदवारका गढहरुमा बम कसरी पड्काउने भन्ने बारेमा छलफल गर्दै स्थान विशेष किटानी गरिरहेका थिए ।

अचानक भएको बम बिस्फोटपछि गौर अस्पतालबाट डाक्टर बोलाएर घाइतेहरुको उपचार गरिएको थियो । त्रिलोक घाइते भए पनि जीवितै थिए । तर एकजना पनि बचेर त्यहाँबाट बाहिर गए सबै कुरा खुल्ने डरले घटना ढाकछोप गर्न दुर्घटना परेर मरेका र त्रिलोकसहित घाइते आठजना गरी सबै २२ जनालाई घिसार्दै ट्य्राक्टरमा लोड गरी आलमका नातेदार मुस्ताक राजाको बलिरहेको इट्टाभट्टामा जिउँदै जलाइएको थियो । यो काम आलम दाजुभाइले गरेका थिए । त्यसपछि स्थानीय युवा त्रिलोक र ओसी अख्तर अहिलेसम्म घर फर्केका छैनन् ।

बिष्फोटको घटना सुन्ने बित्तिकै बिनाढिलाइ घटनास्थल पुगेका त्रिलोकका बुवा श्रीनारायणले घटना भएको गाउँलाई चारैतिरबाट सशस्त्र प्रहरीले घेराहाली कसैलाई पनि गाउँभित्र पस्न नदिन तैनाथ गरेको देखेका थिए । त्यतिबेला बिस्फोटमा मारिएका र घाइते सबैलाई उक्त गाउँको इँटाभट्टामा जलाइएको आशंका गरिएको थियो ।

उक्त घटनाको सत्यतथ्यको खोजीका लागि नेपाल बार एसोसियसन, इन्सेकका प्रतिनिधि र मानवअधिकारकर्मी घटनास्थल पुगी प्रहरी उपरीक्षक न्यौपानेसँग सोधपुछ पनि गरेका थिए । आश्चर्यको कुरा त के थियो भने स्थानीय प्रशासन र अदालतले सो हत्या सम्बन्धमा कुनै पनि निवेदन लिन इन्कार गरेका थिए । त्यसैले न्यायको माग गर्दै रुक्साना खातुन र श्रीनारायण सर्वाेच्च अदालतमा निवेदन दिन पुगेका थिए । सर्वोच्च अदालतले आलम र अन्य दोषीलाई पक्राउ गरी घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिए पनि स्थानीय प्रशासनले दोषीहरु फरार रहेको बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्