काठमाडौंमा रेल गुडाउन डिपिआर सम्झौता



काठमाडौं : काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सम्झौता भएको छ । राष्ट्रिय सभागृहमा बुधबार ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाले डिपिआर तयार गर्न चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सिआरसिसी) सँग सम्झौता गरेका हुन् ।

 

डिपिआर तयार भएको तीन वर्षपछि आयोजना निर्माण थाल्न सकिने बताइएको छ । कम्पनीले एक वर्षभित्र डिपिआर तयार पारिसक्नुपर्नेछ । सिआरसिसी चीन सरकारमातहतको कम्पनी हो ।

यसअघि चक्रपथमा रेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब लागत लाग्ने अनुमान गरिएको थियो । यसमा लागत केही घट्न सक्ने चिनियाँ अधिकारीले बताएका छन् । 

 

२७ दशमलब ५ किलोमिटर लामो चक्रपथमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेसन रहनेगरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । 

सहमतिमा हस्ताक्षर कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जन सहभागी थिए । उनीहरुले गत स्थानीय निर्वाचनमा उपत्यकामा रेल गुडाउने प्रतिबद्धता जनाएका थिए । उनीहरु मेयरमा निर्वाचित भएकाे २० महिना बितिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्