गरिब र असहायको घर छाउँदै नगरपालिका



लमजुङ : लमजुङको बेसीसहर नगरपालिकाले नगरभित्र खरले छाएका घरको छानो हटाएर टिनले छाउने अभियान सुरु गरेको छ । नगरपालिकाले विपन्न नागरिकलक्षित कार्यक्रमअन्तर्गत खरले छाएको घरलाई जस्तापाताले छाउन सुरु गरेको हो । 

खरले छाएको घरको तथ्यांक संकलन गरिसकेपछि त्यस्ता घरलाई जस्तापाताले छाउन थालेको बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए ।

अभियानको सुरुवातमा पहिलोपटक वडा नम्बर ६ सारिङफाँटका लीलाबहादुर घर्तीको घरमै पुगेर नीलो जस्तापाता हस्तान्तरण गरिएको छ । यसअघि घर्तीको घर खरले छाइएको थियो । उनको दुईतले घरलाई छाउन साढे २ बन्डल १० फुटे जस्तापाता दिइएको छ । यस्तै, किलाकाँटी र अन्य व्यवस्थापनका लागि १० हजार रुपैयाँ पनि दिइएको मेयर अर्यालले बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण घर्तीले जस्तापाताले छाउन सकेका थिएनन् । बुधबार नगरपालिकाबाट जस्तापाता र नगद पाएसँगै बुधबार नै जस्ताले छाएको घर्तीले बताए । घर्तीले भने, ‘स्थानीय सरकार आएपछि मेरो वर्षौँदेखिको सपना पूरा भयो । धेरै खुसी छु । गाउँगाउँमा सिंहदरबार भनेको यही रहेछ जस्तो लागेको छ ।’ 

लीलाबहादुरको घरमै पुगेर जस्तापाता र नगद हस्तान्तरण गर्दै नगरपालिकाका मेयर अर्यालले नगरपालिकाभित्रका ११ वटै वडाका खरको छानोलाई विस्थापित गर्ने उद्देश्यका साथ काम सुरु गरिएको बताए । 

‘नगरपालिकाभित्रका कुनै पनि ठाउँमा खरको छानो राख्दैनौँ । सबै घर जस्तापाताले छाउँछौँ । यसका लागि बजेट छुट्याएका छौँ । काम सुरु भइसकेको छ । अब सबै ठाउँमा खरको छानोलाई विस्थापित गर्छौँ,’ अर्यालले भने ।

नगरपालिकाले विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक वर्ष ०७५/७६ मा २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षसम्म नगरपालिकाभित्रका सबै घर टिनले छाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्