काठमाडौंको तारकेश्वरमा विद्यालयको छाना खस्दा साढे तीन दर्जन विद्यार्थी घाइते



काठमाडौं : काठमाडौंको तारकेशवर नगरपालिका ३ धर्मस्थलीस्थित एक विद्यालयको छाना भत्किँदा करिब साढे तीन दर्जन विद्यार्थी घाइते भएका छन् ।

विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलको छाना खस्दा विद्यार्थीहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि सामाखुसीस्थित ग्रीनसिटी अस्पताल लगिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

विद्यालयको छानामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी छाना खसेपछि घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुने विद्यार्थीहरु अन्दाजी ६ देखि १२ वर्ष उमेरका रहेका छन् ।

उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको ग्रीनसिटी अस्पतालले जनाएको छ ।

प्रहरी निरीक्षक बाल नरसिंह राणाका अनुसार विद्यालयमा खेलकुद गतिविधि भइरहेका बेला छानामा धेरै विद्यार्थीहरु बसेर हेरिरहेका कारण विद्यार्थीको भार थाम्न नसकेर छाना खसेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्