नेपाल–भारत मैत्री पशुपति धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा



पशुपति क्षेत्र विकास कोषले तीनतारे होटेल सञ्चालन गर्नका लागि ठेक्कामा दिएको छ

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ
  • धर्मशालामा सुलभ दरमा तीर्थालु र पर्यटक बस्ने सुविधा थियो, अब महँगो शुल्क तिर्नेले मात्र बस्न पाउनेछन्, होटेल तीनतारेसरहको बन्दै छ 
  • १९ रोपनी क्षेत्रफलको धर्मशालामा तीन सय ८८ कोठा थिए, तर अब सबै भत्काएर जम्मा ८० वटा विलासी कोठा बनाइएको छ

काठमाडौं : भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ । नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशाला नै होटेल बनेपछि महँगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् । 

बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए । तर, करिब एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ । पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ । कोष र बतास समूहबीच धर्मशाला सञ्चालनको सम्झौता भएको छ । 

धर्मशालामा सुलभ दरमा तीर्थालु तथा पर्यटक बस्ने सुुविधा थियो, तर अब महँगो तिर्न सक्ने मात्र बस्न पाउने भएका छन् । १९ रोपनी क्षेत्रफलमा बनेको धर्मशालामा तीन सय ८८ कोठा भएकाले एकैपटक धेरै तीर्थालु बस्न पाउने सुविधा थियो, अब होटेलमा जम्मा ८० विलासी कोठा मात्र हुनेछन् । भव्य कोठा बनाउन अहिले साना कोठा धमाधम भत्काउने काम भइरहेको छ । 

धर्मशाला होटेलमा परिणत भएपछि ‘सुइट’ बनिरहेका छन् । अब त्यस्ता कोठाको शुल्क प्रतिदिन दुई हजार नौ सय रुपैयाँसम्म पर्नेछ । पशुपति गौशाला क्षेत्रमा ‘अट्याच बाथरुम’सहितको कोठा हजार रुपैयाँमा दिने होटेल प्रशस्त छन् । त्यो पनि तिर्न नसक्ने सर्वसाधारणलाई सुविधा दिन धर्मशाला बनाइएको हो । तर, नजिकैका होटेलभन्दा धर्मशालाको बसाइ तीन गुणा बढी हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्