सामूहिक बलात्कार काण्ड : आठ वर्षपछि पीडित पूजालाई सर्वोच्चबाट न्याय



काठमाडौं : आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी छिन् । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले विहीबार सुनुवाई गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको हो । फौजदारी नयाँ संहिता आएसँगै दोषी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो कानुनअनुसार दण्ड सजाय निर्धारण गर्नका लागि अर्को पेशी तोकिने छ । अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्को पेशी तोकेर सजाय निर्धारण गर्नेछ ।

बलात्कारपछि न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको उनको मुद्दामा २२ फागुनमा २०६९ मा तत्कालीन जिल्ला अदालत बैतडीका न्यायाधीश हिमालयराज पाठकले दुवै अभियुक्तलाई १३ वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएका थिए । जिल्ला अदालतको सो फैसलापछि पीडक दुबै जना पुनरावेदन अदालत गएका थिए । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै पीडक दुवैलाई सफाइ दिएपछि पीडित पूजाले सो फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् ।

पुनरावेदन अदालत महेन्द्रनगरले सफाइ दिएपछि यो मुद्दा निक्कै विवादित बन्न पुगेको थियो । काठमाडौंमा अकुपाइ बालुवाटार लगायतका मुभमेन्टमा समेत यो घटनाले प्राथमिकता पाएको थियो । यस्तो फैसला दिने न्यायाधीश शाही हालै एक अर्कै प्रकरणमा बर्खास्तीमा परेका छन् ।

पूजाको मुद्दामा २२ फागुनमा २०६९ मा पीडकलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरीमानाको फैसला सुनाइयो । ७ चैत २०६८ सालमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपेर किन्न पाटन बजारमा पुगेकी पूजालाई सामूहिक बलात्कार गरिएको थियो । पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा उनी परीक्षा दिन बैतडीको कैलापाल गाउँबाट आएकी थिइन् । उनी बलात्कारमा परेपछि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा अस्पताल भर्ना भएपछि सो घटना बाहिर आएको थियो । यो समाचार आजको राजधानी राष्ट्रिय दैनिकमा रोशन श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्