आज तिहारको पहिलो दिन : यमराजको सन्देश वाहक कागको पूजा गरी मनाइँदै



काठमाडौं : वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो, तिहार । यसलाई यमपञ्चक पनि भनिन्छ । यहि यमपञ्चकको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । अर्थात आज (शनिबार) हिन्दू धर्मावलम्बीहरुले काग तिहार मनाउँदै छन् ।

पाँचदिनसम्म तिहार पर्व अन्तर्गत कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।

काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन परापूर्वक कालदेखि चल्दै आएको छ ।

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा बाठो पन्छी हो र यसले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र मांशजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटोदेखि श्वाँस फेर्ने हावा अनि वर्सिने वादलदेखि गर्जिने वाघसम्म, कुकुरदेखि काग अनि बोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्