आज यमपञ्चकको दोस्रो दिन: बिहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गरिँदै



काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाइँदै छ । साथै यस वर्ष चर्तुदशी तिथि बिहान र दिउँसोदेखि औसी छुने भएकाले साँझ लक्ष्मीको पूजा र बिहान कुकुर तिहार मनाइँदैछ ।
घर–घरमा सुरक्षा गर्ने र डुलुवा कुकुरहरुलाई मीठा-मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा-मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

Related image

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

नरक चतुर्दशी

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

Image result for नरक चतुर्दशी

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।

लक्ष्मी पूजा

त्यसैगरी आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

Image result for नरके नुहाउने

गृहणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।

आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्