नेपाली साहित्यलाई यसरी चिनाएका थिए महाकविले अन्तर्राष्ट्रिय जगतमा



टिका ढकाल

काठमाडौ : कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध कोरा राजनीतिले मात्र निर्धारण गर्दैन। अन्तर्राष्ट्रिय सम्बन्धका बृहत् पाटा छन्स जसमा कला, संस्कृति र साहित्य पनि पर्छन्।

नेपालबाट अन्तर्राष्ट्रियस्तरमा उभिन सक्ने साहित्यकारको खोजी गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा मात्र भेटिन्छन्। देवकोटा अघि बालकृष्ण समले केही प्रयत्न गरे। समले आफ्ना केही कविता अंग्रेजीमा अनुवाद गरेका थिए।

देवकोटा भने सीधै अंग्रेजीमै लेख्न सक्थे। आफूले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई आफैंले अंग्रेजीमा अनुवाद पनि गरेका थिए। नेपालमा पनि विश्वस्तरका साहित्य लेखिन्छन् भनेर अन्तर्राष्ट्रिय जगतलाई देखाउनुपर्छ भन्ने उनको अभिलाषा थियो। त्यसै कारण उनी तत्कालीन सोभियत संघको तासकन्द शहरमा आयोजित अफ्रो–एशियाली साहित्य सम्मेलनमा भाग लिन गएका थिए। त्यसअघि पनि उनी भारत, रोमानिया, चीन लगायत देशका साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए।

देवकोटाको मृत्युपछि विभिन्न ख्यातिप्राप्त विदेशी साहित्यकारले उनका बारेमा लेखेका छन्। जसमध्ये राहुल सांकृत्यायनले लेखेका सामग्री अलि बढी पढ्न पाउँछौं। तर, देवकोटासँग प्रभावित हुने र उनीबारे लेख्ने सांकृत्यायन मात्र थिएनन्।

भारतीय साहित्यकार डम मोरेले देवकोटालाई सन् १९५९ मा उनको अन्तिम क्षणमा काठमाडौंमै भेटेका थिए। त्यतिवेला उनी मात्र २० वर्षका थिए। अक्सफोर्ड विश्वविद्यालय पढेका उनले धेरै मूर्धन्य व्यक्तिहरूलाई भेटिसकेका थिए।

सन् १९५७ मा बेलायतको पहिलो ‘हथोन्डेन पुरस्कार’ पाउने पहिलो विदेशी लेखक उनै थिए। वास्तवमा बाहिरी दुनियाँमा देवकोटालाई चिनाउने नै मोरेको संस्मरण ‘डाइङ पोएट’ हो, जुन उनको पुस्तक ‘गन अवे’ मा छापिएको छ। उक्त पुस्तक देवकोटाको मृत्यु लगत्तै १९६० मा छापिएको थियो।

मोरेले सन् १९९४ मा भारतीय साहित्य एकेडेमी पुरस्कार पनि पाए। त्यो वेलासम्ममा इएम फोस्टर, डब्लुएच अउडेलन लगायतले उनलाई महान् लेखक भन्न थालिसकेका थिए। मोरेले सन् १९९२ मा ‘नेभर एट होम’ संस्मरण लेखे। यसमा उनले “३२ वर्षअघि ‘गन अवे’ पुस्तक लेख्ने क्रममा भेटेका दुई व्यक्तिको चर्चा गर्नुपर्दा नेहरू र लक्ष्मीप्रसाद देवकोटा सम्झ्न्छु” भनेर लेखेका छन्। डम मोरेमा देवकोटाको अविस्मरणीय छाप परेको बुझ्न्छि।

सन् १९८० मा कोलम्बिया युनिभर्सिटीका प्राध्यापक डेभिड जर्ज रुबिनले ‘नेपाली ड्रिम्स नेपाली भिजन्सः द पोएट्री अफ लक्ष्मीप्रसाद देवकोटा’ पुस्तक लेखेर देवकोटालाई अन्तर्राष्ट्रिय साहित्यमा थप चिनाएका छन्। पुस्तकमा देवकोटाका ४५ वटा कविताका अंग्रेजी अनुवाद पनि छन्। अनुवादका लागि झण्डै ६ महीना काठमाडौं बसेका उनले इतिहासविद् महेशराज पन्तसँग सहयोग लिएका थिए। देवकोटा सम्बन्धी उनको पुस्तक अहिले कोलम्बिया विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साहित्य अन्तर्गत पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्