किन लगाइन्छ भाईटीका यस्तो छ महत्व



काठमाडौं : हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज (मंगलबार) भाइटीका मुलुकभर दाजुभाई पुजा गरी मनाइँदैछ । भाइटीका दिन दिदीबहिनीले दाजुभाईहरुको निधारमा दिर्गायु र प्रगतीको कामना गर्दै सप्तरंगी टीका लगाइदिने गरिन्छ ।

दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाइ दिँदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरन्जिबीका साथै यमराज र यमुनाको पुजा गरी तेलको घेराहालेर ओखर फुटाई मखमली सयपत्रि र दुबोको माला लगाएर चिरायुको कामना गर्ने गर्दछन् । टीकाको साइतको प्रतिक सातवटा वा पाच वटा रंगको प्रयोग गरिनुका साथै सगुन मिठाई फलफुल ओखर कटुस मसला सेल रोटी दिने चलन छ । दाजुभाईले पनि टीका लगाइदिएर दिदिबहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य सुख समृद्धि र चिरायुको कामना गर्ने गर्दछन् ।

भाईटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टीका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आइपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ति चेलीले यमदूतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टीकाटालोका क्रममा यमदुतलाई पनिसँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्नभन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाईको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहँदै आएको छ ।

पौराणिक मान्यता अनुसार भाईटीकाको कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिएको किंवदन्ति रहेको छ ।

दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजुभाईलाई भाईटीकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाईहरु आजकै दिन दिदीबहिनीसँग टीका लगाउँदछन् । टीका लगाउनुपूर्व दिदीबहिनीले दाजुभाईलाई विशेष पूजा गर्नका लागि भुईमा चकटी ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेलपानी राखेर हरियो दूबोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैँ कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् ।

यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल)को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाईको आरोग्य अनि दिर्घायुको कामना गर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टीका लगाईदिएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाईदिन्छन् । सप्तरङ्गी टीकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाईले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाडौंको रानी पोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाईटीकामा जाने चलन पनि छ ।

लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ ।

यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै बिदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा आजदेखि तिहारलाई पनि एक वर्षको लागि बिदा गरिँदै छ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ ।

प्रतिक्रिया दिनुहोस्